Ad Banner

संसद अवरोध खुलाउन सभामुखको पहल – प्रधानमन्त्रीले सदनमा जवाफ दिने

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच प्रतिनिधि सभाको अवरोध हटाउन सहमति भएको छ । सभामुख घिमिरेले सदनको अवरोध हटाउन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका मुख्य सचेतकसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दललाई लचिलो हुन आग्रह गरेका घिमिरेले प्रतिपक्षीसँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भने, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै (सोमबार)को संसद्‌मा आफूले प्रस्टीकरण दिने बताए । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका थिए ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत् विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारतमा दिएको विवादास्पद अभिव्यक्ति र राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै आइतबार स्थगित भएको संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्दै छन् ।  आइतबार संसद सुरु भएलगत्तै विपक्षी दलहरुले संसद बैठक अबरोध गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेकपा एमाले, रास्वपा र राप्रपाले प्रतिनिधि र राष्ट्रियसभाको बैठक चल्न दिएनन्।

यो पढ्नु भयो ?