शकुनि मामा – चरित्र चित्रण र पासा खेल्नुका पछाडिको गम्भीर रहस्य

साझा कथा । महाभारतमा शकुनिको भूमिका निभाएका गुफी पेन्टलको ७८ बर्षको उमेरमा सोमबार बिहान निधन भयो । गुफीले सन् १९७५ मा ‘रफु चक्र’ बाट बलिउडमा डेब्यू गरेका थिए । उनी ८० को दशकमा धेरै चलचित्र र टीभी कार्यक्रमहरूमा देखा परे । तर, गुफीलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको सुपरहिट शो ‘महाभारत’बाट मिलेको थियो । उनले शोमा शकुनीको भूमिका निभाएका थिए ।
हामी यहाँ उनै शकुनिको चरित्र चित्रण र पासा खेल्नुको रहस्य खोतल्दैछौँ ।
हिन्दु धर्मको प्रचलित ग्रन्थ महाभारतमा सत्तास्वार्थमा देखिने घात अनि प्रतिघात विभिन्न पात्रका माध्यमबाट चाखलाग्दो रूपमा प्रस्तुत गरिएका छन् । गांधारीका दाजु र दुर्योधनको मामा शकुनि महाभारतका महत्वपूर्ण पात्र हुन् । कौरवहरूलाई छलकपटको मार्गमा लाग्न सिकाउने शकुनिले नै कौरवहरूको मनमा पाण्डवप्रति घृणा भाव जगाएका थिए। यद्यपि भनिन्छ, उनको मनमा कौरवहरूप्रति पनि बदलाको प्रबल भावना थियो ।

भनिन्छ, भीष्मले शकुनिकी बहिनी गांधारीको विवाह अन्धा धृतराष्ट्रसँग जवर्दस्ती गरिदिएका थिए । पछि धृतराष्ट्रले गंधारीका पिता सुबल तथा अन्य पुत्रलाई आजीवन जेल कोचिदिएका थिए ।

जेलमा उनीहरूलाई खानका लागि केवल एक व्यक्तिलाई पुग्ने भोजन दिइन्थ्यो । यो परिवारलाई नै भोकै मार्ने षड्यन्त्र थियो । राजा सुबलले यो निर्णय लिए कि उक्त भोजन केवल उनको कान्छो छोरोलाई मात्र दिने, ता कि परिवारको एकजना मात्र भए पनि जीवित रहन सकियोस् ।

उक्त भोजन शकुनि एक्लैले खान्थे । अरू सबै एक-एक गरेर मर्न थाले । मृत्युअघि सुबलले धृतराष्ट्रसँग आफ्नो अन्तिम इच्छाका रूपमा शकुनिको रिहाइ मागे । धृतराष्ट्रले उक्त कुरा स्वीकार गरे । शकुनि रिहा भए तर आफ्नो आँखा अगाडि माता, पिता र दाजुहरू भोकले मरेको कुरा शकुनिले भुल्न सक्ने कुरै थिएन ।

जेल बाहिर आएपछि शकुनिसँग दुई विकल्प थियो। आफ्नो देश फर्कने वा हस्तिनापुरमै बसेर बदला लिन प्रयास गर्ने । गान्धारको राज्य पुत्र उलूकलाई दिएर शकुनिले दोस्रो विकल्प रोजे । शकुनिले हस्तिनापुरमा सबैको विश्वास जीते र १०० कौरवको अभिवावक बनेर बसे । विश्वासपूर्ण कार्यका कारण दुर्योधनले शकुनिलाई आफ्नो मन्त्री नियुक्त गरे ।

शकुनिले दुर्योधनलाई आफ्नो बुद्धिको मोहपाशमा बाँधेर भड्काए । शकुनिले नै पाण्डवहरूलाई मार्न लाक्षागृहको योजना बनाए । शकुनिकै प्रयास स्वरूप महाभारत युद्धको आधार खडा भयो । शकुनिकै जुक्तिका कारण जुवा खेलियो र उसको छलपूर्ण पासाको कारण पाण्डवले सर्वस्व गुमाए । जुन महाभारत युद्धको कारण बन्यो ।
किन खेलियो पासा ?
महाभारतमा सकुनीले जुवामा गर्ने चर्तुर्‍याईपूर्वक छलकपटले कति ठूलो उथलपुथल ल्याएको छ भन्ने कुरा देखाउँछ । धेरै कम मानिसलाई मात्र जानकारी हुनसक्छ, शकुनिसँग जुवा खेल्नका लागि त्यस्तो पासा थियो जुन उनको मृत पिताको मेरुदण्डको हड्डीबाट बनाइएको थियो । आफ्नो बाबुको मृत्युपछि बाबुकै निर्देश अनुसार शकुनिले उनको हड्डबिाट पासा बनाइएका थिए । शकुनि जुवाको खेलमा पारंगत थिए । उनले कौरवहरूलाई पनि जुवाप्रति मोह जगाइदिएका थिए ।

शकुनिको यस्तो चालका पछाडि पाण्डवहरूको मात्र नभई कौरवहरूको समेत भयंकर विनाश लुकेको थियो किनभने शकुनिले कौरव कुलको समूल विनाश गर्ने कसम खाएका थिए । यसका लागि उनले दुर्योधनलाई आफ्नो हतियार बनाएका थिए ।

शकुनि हरेक समय त्यस्तो अवसरको खोजीमा रहन्थे जहाँ कौरव र पाण्डव दुईपक्ष बीच भयंकर युद्ध होस् र कौरव कुलको नास होस् ।
युधिष्ठिर हस्तिनापुरका युवराज घोषित भएपछि शकुनिले नै लाक्षागृहको षड्यन्त्र रचे र सबै पाण्डवलाई वारणावतमा जिउँदै जलाएर मार्ने प्रयत्न गरे ।

शकुनि जे गरेर भए पनि दुर्योधनलाई हस्तिनापुरको राजा बनाउन चाहन्थे ताकि दुर्योधनमाथि आफ्नो मानसिक आधिपत्य रहोस् र त्यही मुर्ख दुर्योधनलाई प्रयोग गरेर भीष्मसहित सम्पूर्ण कुरुकुलको विनाश गर्न सकियोस् । अतः उनले दुर्योधनको मनमा पाण्डवप्रति वैरभाव जगाए र उसलाई सत्तालोलुप बनाइदिए ।
युधिष्ठिरले आयोजना गरेको राजसूय यज्ञका दौरान दुर्योधनलाई उक्त सहर हेर्ने अवसर मिल्यो । राजमहलमा प्रवेश गरेपछि एक विशाल कक्ष जहाँ पानी भरिएको थियो, त्यस भूमिलाई दुर्योधनले भ्रमवश पानीरहित भूमि ठानेर टेक्दा उनी पानीमा खसे । यो देखेर द्रौपदिले हाँसेर भनिन्, ‘अन्धाको छोरो अन्धो नै हुन्छ ।’ यो सुनेर दुर्योधन साह्रै क्रोधित भए ।

दुर्योधनको मन राम्ररी बुझेको शकुनिले यसै कुराको फाइदा उठाउँदै पाण्डवहरूसँग पासा खेल्ने योजना बनाए । उनले आफ्नो योजना दुर्योधनलाई सुनाए र यो खेलबाट पाण्डवहरूलाई हराएर बदला लिन सकिन्छ भनी सहमत गराए । शकुनिले पाण्डवहरूलाई साह्रै प्रेम भाव देखाएर खेल्न बोलाए अनि दुर्योधनको पक्षबाट आफैंले युधिष्ठिरसँग पासा खेल्न थाले ।

खेलको शुरुआतमा पाण्डवहरूको उत्साह बढाउन शकुनिले छाल चले र केही पल्ट युधिष्ठिरलाई जित्न दिए । पाण्डवहरूमा खेलप्रति राम्रै रस बसिसकेपछि शकुनिले आफैँ जित्न सुरु गरे । खेलको उत्साहमा फसेका युधिष्ठिरले आफ्नो सम्पूर्ण धनसम्पत्ति तथा साम्राज्य जुवामा गुमाए ।

अन्तमा शकुनिले युधिष्ठिरलाई आफ्ना भाइ तथा पत्नी द्राैपदी दाउमा थाप्न र जितेमा अहिलेसम्म हारेका सबै कुरा फिर्ता गर्ने शर्त तेर्स्याए । युधिष्ठिरले उक्त कुरा पनि माने र यो पटक पनि हारे । यो खेलमा भएको पाण्डव एवं द्रौपतिको अपमान नै अन्ततः महाभारत युद्धको प्रमुख कारण बन्न पुग्यो ।

यो पढ्नु भयो ?