Ad Banner

कतार विश्वकपको हिसाब नदेखाएको एन्फामा महिला विश्वकपको लागि टिकटको भागबण्डा

कतारमा पुरुष फुटबल विश्व कप सकिएको ६ महिना बितिसक्दा टिकट विक्रीको हिसाब सार्वजनिक गर्न नसकेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले झण्डै डेढ महिनापछि अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकपको २ सय ३० टिकट विक्रीका लागि आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा जेठ २० गते बसेको आपतकालीन बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, सह महासचिव, प्रवक्ता, कोषाध्यक्ष, सदस्य, जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभचिन्तकका लागि टिकटको भागबन्डा गरेको छ । एन्फाका अनुसार महिला विश्व कपका लागि एन्फालाई अष्ट्रेलियामा हुने खेलको १ सय २५ र न्यूजिल्यान्डमा हुने खेलका लागि १ सय ५ गरि २ सय ३० टिकट विक्रीका लागि उपलब्ध भएको छ ।

एन्फाले पदीय मर्यादाक्रम अनुसार टिकटको भाग बण्डा गरेको छ । जसअनुसार अध्यक्षलाई अष्ट्रेलियाको ८ र न्यूजिल्यान्डको ७, वरिष्ठ उपाध्यक्षलाई अष्ट्रेलियाको ७ र न्यूजिल्यान्डको ६, चार उपाध्यक्ष र महासचिव हरेकलाई अष्ट्रेलियाको ५ र न्यूजिल्यान्डको ४, केन्द्रिय सदस्य हरेकलाई अष्ट्रेलिया र न्यूजिल्यान्डको समान ३ टिकट भाग लगाइएको छ ।

त्यस्तै एन्फा कोषध्यक्षलाई अष्ट्रेलियाको र न्यूजिल्यान्डको समान १, तीन सहायक महासचिव र प्रवक्ता हरेकलाई अष्ट्रेलियाको १ र न्यूजिल्यान्डको २ टिकट भाग बण्डामा परेको छ । एन्फाका सदस्य जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभ चिन्तकलाई अष्ट्रेलियाको ३५ र न्यूजिल्यान्डको १८ टिकट भागमा राखिएको छ ।

भाग लगाइएको अनुसार कुनै पदाधिकारीले टिकट खरिद गर्न नचाहेको वा कम खरिद गर्न चाहेको अवस्थामा आपसी सहमतिमा अन्य पदाधिकारी वा व्यक्तिले खरिद गर्न सक्नेछन् । टिकट खरिद वा विक्री गर्दा सम्बन्धित पदाधिकारीले सिफारिससहित गैरकानुनी गतिविधि नहुने जिम्मा जमानीको करारनामा गर्नुपर्ने पनि एन्फाले निर्णय गरेको छ ।

 

यो पढ्नु भयो ?