साझा कथा । केहि सूचनाहरु भन्छन्, आगामी २१ जुनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने सम्भावना छ । गत जनवरीबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको छैन । तर नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरामा चार्टर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ ।
‘‘हाम्रो पोखरा कार्यालयमा ट्रान्स हिमालय (कम्पनी) भन्नेले त्यहाँ के के सुविधा छ, विमानस्थलका फिचर के छन् भनेर सोधेको रहेछ,’’ प्राधिकरणका उप महानिर्देशक जगन्नाथ निरौलाले बीबीसीसँग भनेका छन्, ‘‘जुन महिनाको २१ र २२ तारिखमा (उडान) गर्ने गरी तयारी गरेको भन्ने बुझिएको छ। तर औपचारिक पत्र आइसकेको छैन।’’
प्रारम्भिक छलफल अनुसार दुई दिनमा दुई वटा उडान हुने गरेर कुराकानी अघि बढाइएको छ । आधिकारिकरूपमा अनुमति माग भएको अवस्थामा आफूहरू स्वीकृत गर्न तयार रहेको प्राधिकरणको भनाइ छ ।
जुन २३ र २४ तारिखमा पोखरामा हुन लागेको नेपाल–चीन फ्रेन्डशिप ड्रयागन बोट रेस फेस्टिभलका सहभागीहरू सवार गराएर चीनको चेङ्दुस्थित टिएन्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान पोखराका लागि उड्ने विषयबारे हाल छलफल भइरहेको छ । पोखरास्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि सबै किसिमका पूर्वाधार तयार छ । अघिल्लो वर्ष उक्त विमानस्थलको ऋण लगानीकर्ता एक्जिम ब्याङ्कले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ एवम् अन्य जेट मोडलहरूको उडान र अवतरण हुन सक्ने जनाएको थियो ।