Ad Banner

भारत-पाकिस्तान सम्बन्धको कोपभाजनमा एसिया कप, नेपाल श्रीलंका जाने सम्भावना

साझा कथा । एसिया कपको नेपाल, भारत र पाकिस्तान रहेको समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने सम्भावना बढेपछि यो समूहका खेल श्रीलंकामा हुने सम्भावना बढेको हो ।

प्रस्तावअनुसार भारत, नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ का खेल श्रीलंकामा खेलाउने र बाँकी खेल पाकिस्तानमै खेलाउने प्रस्ताव छ । प्रतियोगिताका १३ खेलमध्ये चार वा सम्भवतः पाँच खेल श्रीलंकामा हुने प्रस्ताव छ । त्यसबाहेकका अरु खेल पाकिस्तानमा हुनेछन् ।

भारत फाइनलमा पुगे फाइनल खेल पनि श्रीलंका हुनेछ । क्रिकेटको चर्चित वेव पोर्टल क्रिक इन्फोले साता प्रतियोगिताबारे आधिकारिक घोषणा हुने जनाएको छ ।

एसिया कप सेप्टेम्बर १ देखि १७ सम्म खेलाउने समय तय भएको छ । नयाँ प्रस्ताव भारतले स्वीकार गरेको अवस्थामा एसिया कपसहित अन्य प्रतियोगिताको गतिरोध हट्ने छ । यसअघि पाकिस्तानले आफ्नो भूमीमा एसिया कप नभए प्रतियोगिता नखेल्ने र भारतमा हुने एकदिवसीय विश्वकप समेत नखेल्ने चेतावनी दिएको थियो ।

भारतले प्रतियोगिताका लागि पाकिस्तान भ्रमण नगर्ने बताएसँगै विवाद सुरु भएको थियो । नयाँ प्रस्तावले पाकिस्तानको विश्वकपका लागि भारत भ्रमणको बाटो सहज हुने सम्भावना छ । ६ राष्ट्रको एसिया कपमा नेपालसँगै भारत र पाकिस्तानलाई समूह एमा छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । एसिया कपमा १३ दिनमा फाइनल सहित कुल १३ खेल हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर फोर राउन्डमा पुग्नेछन्, सुपर फोरबाट शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

यो पढ्नु भयो ?