Ad Banner

“अदालतमा त कसैले सत्य बोल्दो रहेनछ”

साझा कथा । प्रधानमन्त्रीको भारत भ्रमणका कारण ओझेलमा परेको छ, नक्कली भुटानी शरणार्थी प्रकरण । उक्त प्रकरणका अभियुक्तहरुको थुनछेक बहस भने चलिरहेको छ । गत बुधबारदेखि सुरु भएको बहस चौथो दिनसम्म आइपुग्दा केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ, इन्द्रजित राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी र टेकनारायण पाण्डेको तर्फबाट कविलहरुले बहस गरिसकेका छन् । अझै आधा बढी प्रतिवादीहरुको थुनछेक बहस हुन बाँकी छ ।

पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, उनका तत्कालीन निजी सचिव नरेन्द्र केसी, पूर्व सभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरमा हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुन बाँकी छ।

काठमाडौं जिल्ला अदालतमा प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिन छुट्याएको छ । ४ दिन बितिसकेको छ । अब ९ जनाको बहसका लागि इजलासले तोकेको २ दिन मात्रै बाँकी छ । आइतबारको बहसका क्रममा पनि न्यायाधीश न्यौपानेले मंगलबारसम्म सबै बहस सकिसक्न भनेका छन् ।

यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएको छ। तर पक्राउ परेका १८ जना प्रतिवादीका वकिलले मात्रै बहस गर्नेछन् । त्यसपछि उनीहरुलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने आदेश न्यायाधीश न्यौपानेले दिने छन् ।

यसअघि प्रहरीले अनुसन्धान गर्दा एकअर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका प्रतिवादीहरुले अदालतमा बयान गराउँदा भने कसुर नै अस्वीकार गरेका छन् । कसैले पनि अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता स्वीकार गरेनन् ।

अहिले वकिलहरुको बहस पनि अदालतमा गरिएको त्यही इन्कारी बयानमा केन्द्रित छ । प्रतिवादीका वकिलहरुले आफ्नो पक्ष संलग्न नरहेको बताउँदै उनीहरुको प्रतिरक्षा गरिरहेका छन् । यो मुद्दाका १८ जना प्रतिवादीहरु पनि इजलासमा बसेर आफूविरुद्धको र आफ्नो पक्षको बहस सुनिरहेका छन् ।

तर यही मुद्दामा प्रतिवादी बनाइएका हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई भने प्रतिवादीका तर्फबाट भइरहेको बहस फिटिक्कै चित्त बुझेको छैन । आइतबारको बहस सकिएपछि उनले शरणार्थी नेता टेकनाथ रिजाल छेउमा बसेर गुनासो गर्दै थिए, ‘अदालतमा त कोही पनि सत्य बोल्दा रहेनछ ।’

यो पढ्नु भयो ?