Ad Banner

कोकाहाको पानी धरान ल्याएपछि रोए हर्क साम्पाङ

साझा कथा । फेसबुकमा अलि कठोर, असहिष्णु र अराजक देखिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कोमल हृदय र भावुकता बेला बेला पोखिने गर्छ । महिनौँसम्मको मेहनत र जनश्रमदानबाट धरानमा कोकाहा खोलाको पानी ल्याउन सफल भएपछि उनको भावुक हृदय फेरि एकपटक प्रस्फुटित भयो ।

सोमबारको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो । सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी पार गरेर कोकाहाको पानी खसाल्न मेयर साम्पाङ सफल भएका हुन् ।

मेयर साम्पाङ दुई दिनदेखि फिल्डमा नै थिए । कोकाहाको पानी नल्याई घर नफर्कने वाचा गरेका उनले आइतबार पटनालीमा नै अगुवा श्रमदाताहरुसँग रात विताएका थिए भने हिजो (सोमबार) राती पनि पाइपमा एयर लिक गर्न खटिएका थिए ।

पानी खसेको स्थानमा आइपुग्दा मेयर साम्पाङ निक्कै भावुक बने, र केहीबेर रोए । उनले सहयोगी दाता, श्रमदाताहरुलाई धन्यवाद दिदै असम्भव लाग्ने कामलाई सफल बनाएको प्रतिक्रिया दिए । यस्तै, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि धरानले इतिहास रचेको प्रतिक्रिया दिए ।

धरानको वडा नं २० स्थित हात्तिसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुँदै ल्याइएको हो । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो । राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।

यो पढ्नु भयो ?