साझा कथा । कित्ताकाँट अझै खुलिसकेको छैन तर घरजग्गा कारोबार भने पछिल्लो समय बढ्दै गइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार काठमाडौंमा वैशाखको तुलनामा जेठ महिनामा घरजग्गाको कारोबार ६ सय ६ सङ्ख्याले बढेको छ । जेठ महिनामा दुई हजार पाँच सय २७ सङ्ख्यामा घरजग्गा किनबेच भएको देखिएको छ । वैशाख महिनामा घरजग्गा किनबेचको सङ्ख्या एक हजार नौ सय २१ रहेको थियो ।
देशभर जेठ महिनामा घरजग्गाको कारोबार ५५ हजार ६९ सङ्ख्यामा भएको छ । यो सङ्ख्या वैशाख महिनामा ४२ हजार ४६१ को थियो । चालू आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी घरजग्गाको कारोबार जेठ महिनामा भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घरजग्गा कित्ताकाटलाई फुकुवा गर्ने बताएसँगै कारोबार पनि बढेको हुनसक्ने बताए ।
उनले भने, “जेठमा आएर घरजग्गा बढ्नुमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा रोकिएको जग्गा कित्ताकाटलाई फुकुवा गराउने उल्लेख भएको कारणले पनि किनबेच बढी भएको हुनसक्छ । सरकारले औपचारिक रूपमा जग्गाको कित्ताकाट भने फुकुवा गरेको छैन ।”
पछिल्लो समय सेयर मार्केटमा पनि सुधारका सङ्केतहरू देखिन थालेका कारण पनि घरजग्गाको कारोबारमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । बैङ्कले कर्जामा केही सहुलियत दिएका कारण पनि काठमाडौंलगायत देशैभरको घरजग्गाको कारोबारमा वृद्धि भइरहेको छ ।