साझा कथा । आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेवाट सुरु हुनेछ ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्नका लागि नेदरल्यान्ड्सलाई हराउनै पर्ने छ । आजको खेल जित्नैपर्ने भएपछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डसँग हारेमा भने नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।
यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।
तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । वेष्टइन्डिजसँगको पराजय भुल्नका लागि पनि आज नेपालले नेदरल्याण्डस्लाई हराउनुपर्नेछ ।