Ad Banner

नेपाली क्रिकेट टिम निराश हुँदै घरतिर – महत्वपूर्ण खेलमा न ब्याट चल्यो, न त बलिङ

साझा कथा । आईसीसी विश्वकप छनोट अन्तर्गतको तेस्रो तथा नेपालको लागि अति महत्वपूर्ण खेल नेपालले गुमाएको छ । नेदरल्याण्ड्ससँग सात विकेटले पराजित हुँदै नेपालको टटसुपर सिक्समा पुग्ने सपना चकनाचुर भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर खेल्दै १६७ रन बनाउँदा अल आउट भयो । आजको खेलमा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । यसैपनि नेपाली ब्याटिङ कमजोर छ ।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा भान वीकबाट शून्यमा बोल्ड भए । सुरुवातमै दबाबमा परेको नेपालका ओपनर कुशल भुर्तेल १४ ओभरसम्म टिके र २७ रन जोडेर आउट भए । आरिफ शेख ६ रन ल्याउँदा क्याच आउट भए । अलि बढी आशा गरिएका भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए । कप्तान रोहित पौडेल छैटौं विकेटको रुपमा ३२औं ओभरमा ३३ रनमा आउट भए । रोहितले आउट हुनुअघि ५५ बलमा ३ चौका र १ छक्का हानेका थिए । दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभर खेल्दै तीन विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिने भने गुल्सना झाले एक विकेट लिए । बलरहरु समेत हैरान हुनेगरी नेपाललाई हराउन नेदरल्याण्डस् सफल भयो र ऊ सुपर सिक्समा पुगेको छ । आजको अति महत्वपूर्ण खेलमा नेपालको न ब्याट चल्यो न त बलिङ । विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएसँगै नेपाली टोली घर फर्कने भएको छ ।

 

यो पढ्नु भयो ?