साझा कथा । यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन् । म्याग्दिको मंगला गाउँपालिका–१ भर्जुलामा बसोवास गर्दै आएकी उनि अहिले ८२ वर्षीकी भएकी छन् तर उनको काम गर्ने आट र हौसला उस्तै छ ।
परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ।
एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पुनले बताइन्। फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेशाबाट जीविकोपार्जन गर्दै आएकी छिन्। ‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’, उनले भनिन्।
आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले बताइन्। ‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्छन्’, उनले भनिन्, ‘स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजान्छन्।’
गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।
उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आएकी छिन्। २०५२ सालमा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उहाँले विगत २८ वर्षदेखि नेतृत्व गरेकी छिन्। समूहले वृक्षरोपण, गाउँ सरसफाइ, सामूहिक तरकारी खेतीलगायतका गतिविधि गर्दै आएको छ ।