साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती र नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच लफडा सुरु भएको छ । अधिकारीले केहि दिनअघि विमानस्थलको तार काटेको निहुँमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टिकरण सोधेका थिए तर उच्च अदालत पाटनले सो मुद्दा तत्कालका लागि रोकिदिएको छ । उनै अधिकारीलाई पर्यटनमन्त्री किराँतीले ९ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको गम्भीर आरोप लगाइएको छ ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।
अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।
तर अधिकारीले पर्यटनमन्त्रीले सोधेको स्पष्टिकरणको प्रतिउत्तर नदिने अडान लिएका छन् । गोप्य पत्र भनेर आफूले स्पष्टिकरण पत्र पाएको भन्दै अधिकारीले पर्यटनमन्त्रीले फेसबुकमा सार्वजनिक गरेको हुनाले स्पष्टिकरण नदिने बताएका हुन् ।