Ad Banner

नेपाली क्रिकेटको सानो टिम चम्कदैः एसीसी अन्डर १६ इस्ट जोन कपको उपाधी उचाल्यो

साझा कथा । पछिल्लो समय नेपाली क्रिकेटको विकास सन्तोषजनक ढंगले भइरहेको छ । राष्ट्रिय क्रिकेट टिम विश्व कपको छनोट खेलसम्म पुगेर फर्किएको छ भने अन्डर १६ टोलीले ऐतिहासिक सफलता हात पार्दै गइरहेको छ । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधी चुमेको हो । नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मलेसिया १४.४ ओभरमै अलआउट भयो । अलआउट हुँदा मलेसियाको खातामा जम्मा ३१ रन जम्मा भयो । मलेसियाको कमजोर प्रदर्शनका कारण रोमाञ्चक हुनुपर्ने फाइनल खेल रौनकता विहिन भयो ।

नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो । त्यस हिसाबमा मलेसियामा यसपटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू–१६ क्रिकेटमा ह्याट्रिक गरेको हो ।

कप्तान अविषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए ।

त्यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले नरेन भट्टको शतक मद्दतमा मलेसियालाई चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनायो । नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए ।

यस्तै, नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन एक्ट्रा पाएको थियो ।

यो पढ्नु भयो ?