नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ । सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको हाे ।
धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरिएकाे र तीन-चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । खोलामा धमिलो पानी बगुञ्जेल काठमाडौं पानी पठाउन नसकिने उनकाे भनाइ छ ।
गत जेठमा सुरूङभित्र ढुंगा-बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो । तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको पन्तकाे भनाइ छ ।
२०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो । अहिले पनि पुरिएको बाँध क्षेत्र खोतलिएको छैन । संरचनाहरू जस्ताको तस्तै रहेकेा अवस्थामा विगतमा काठमाडाैंमा पानी पठाइएकाे आयाेजनाले बताएकाे छ ।
परियोजनाले झन्डै २० करोड खर्च गरेर अस्थायी तवरले पानी ल्याउँदै आएको छ ।