साझा कथा । भारतीयहरुले नेपाली नागरिकता लिन सक्ने भन्दै व्यापक आलोचना गरिएको नागरिकता विधेयक नआउँदै पनि केहि भारतीय नागरिकहरुले नेपाली नागरिकता लिएको खुल्दै आइरहेको छ । नेपाली नागरिकता लिएको भन्दै डेढ महिनाअघि काठमाडौंको कलंकीबाट ९ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो ।
दोहोरो नागरिकता (नेपाल र भारत) लिएको भन्दै मधेसवादी दलका केहि नेता र नेपाली काँग्रेसका नेता देबेन्द्रराज कँडेलको पनि आलोचना हुँदै आइरहेको छ ।
यसैबीच सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव भारतीय नागरिक भएको खुलेको छ । भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उनी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् । सप्तरीकी सूचना अधिकारी एसपी नरेन्द्र कार्कीका अनुसार अहिले उनलाई हिरासतमा राखिएको छ।
उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनका पति महेन्द्र यादव भारतीय हुन्। भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्।
उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ । उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेपछि हाल फरार भएका छन् ।
यसैबीच दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् । उनीहरुले भारत र नेपालको नागरिकता लिएका भने होइनन्, फरक फरक जिल्लाबाट दुईवटा नागरिकता लिएका हुन् । किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।