Ad Banner

जीवन आचार्य – प्रचण्डको ज्वाईँ भएको १० बर्षमै २ पटक मन्त्री, मुख्यमन्त्री बन्न सक्ने अड्कल

साझा कथा । कोशी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जीवन आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाईँ हुन् । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्यको कोशी प्रदेश सरकारमा भएको ‘इन्ट्री’लाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनलाई ‘सदावहार मन्त्री’ भन्दै आलोचना गरिएको छ । खासगरी उनको व्यक्तित्व र क्षमतामाथि प्रश्न गर्नेहरु र माओवादीवृत्तकै केहि व्यक्तिहरु उनी मन्त्री भएकोमा रुष्ट भएका छन् ।

सूचना–प्रविधिमा दख्खल राख्ने आचार्य मोरङको क्षेत्र नम्बर–६ अन्तर्गत प्रदेशसभाको क बाट दुई पटक निर्वाचित भइसकेका व्यक्ति भने हुन् । पार्टीमा खासै धेरै योगदान नरहेपनि उनी माओवादीबाट टिकट पाइरहेका छन् र जितिरहेका पनि छन् । उनी दोस्रोपटक कोशी प्रदेश सरकारमा मन्त्री बन्ने भाग्यमानी हुन् । मोरङ क्षेत्र नम्बर–६ स्थित हात्तीमुढानिवासी आचार्यले सुनसरीको दुहबी स्कुलबाट विद्यालयस्तरीय अध्ययन पूरा गरेका हुन् ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट आइकम पास गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं लागेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका आचार्य हाल माओवादी केन्द्रको बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य पनि हुन् । उनीसँग प्रचण्डकी कान्छी छोरीले दोस्रो विवाह गरेकी हुन् । यसअघि कान्छी छोरीको विवाह भारतको पश्चिम बंगालस्थित सिलगढीका नारायण प्रधानसँग भएको थियो । १४ बर्ष वर्षअघि सम्बन्ध विच्छेद गरेकी गंगा एकल अवस्थामा ४ बर्षपछि आचार्यसँग जोडिन आइपुगेकी थिइन् । प्रचण्डको ज्वाई भएको १० बर्षमै जीवन आचार्यले महत्वपूर्ण राजनैतिक जिम्मेवारी पाइरहेका छन् ।

हालै मात्र विस्तार भएको कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरेका छन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरुको मन्त्रालय भने टुंगिएको छैन ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । त्यसैदिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एकएक जनालाई मन्त्री नियुक्त गरेपनि पनि माओवादी केन्द्र सहभागी भएको थिएन । आइतबार आचार्यसहित २ जना माओवादीका सांसदहरु मन्त्री बनेका हुन् । आचार्यले १० बर्षमा पाएको अवसर हेर्दा कोशी प्रदेशको यहि कार्यकालभित्र मुख्य मन्त्रीसम्म बन्न सक्ने अड्कल काटिएको छ । अघिल्लो कार्यकालमा निवर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि आचार्य चार महिना पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएपनि अरुको मन्त्रालय भने टुंगिएको छैन । उनीहरूले आजै शपथ ग्रहण गर्नेछन् ।

यो पढ्नु भयो ?