साझा कथा । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ को लामजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ । दुई जना आमा–बुवा र तीन जना छोराछोरी हुन् । अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए।
पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ ।