Ad Banner

डा. तोसिमा कार्कीले के नराम्रो बोलेकी छन् र ? सतहमै बरालियो समाज

  • रामकृष्ण शर्मा 

कुनै पनि विषयमा मिडियाका सामु बोल्ने व्यक्ति उक्त विषयमा धेरथोर ज्ञान राखेर बोल्नुपर्छ । ज्ञान विनाको भाषण र प्रवचन फगत गफ मात्रै हो । ज्ञान हुँदाहुँदै पनि, लयमा बोल्दा बोल्दै पनि मिडियाका चतुर सम्पादक र विवाद सिर्जना गर्ने युट्युबरका कारण धेरै व्यक्तिहरु चिप्लिएका छन् । अरुकै बदमासीका कारण चिप्लिएर फेरि पुरानै अवस्थामा आउँदा सम्बन्धित व्यक्तिको प्रतिष्ठा धुमिल भइसकेको हुन्छ, सञ्जालको शिकार भइसकेको हुन्छ । पछिल्लो समय सामाजिक सञ्जालले सतही कुरा हेरेर वा बुझेर, व्यक्तिलाई पूर्णतामा होइन अंशमा हेरेर वा बुझेर कसैलाई क्षणभरमै नायक र कसैलाई क्षणभरमा खलनायकको रुपमा चित्रित गरिदिएको छ । एउटा बहानामा कसैलाई ‘भगवान्’ बनाइदिने र एउटै कारण कसैलाई ‘दानव’ गराइदिने भाष्य निर्माणमा सक्रिय छ सामाजिक सञ्जाल । र ती सामाजिक सञ्जालका प्रयोगकर्ता जो स्वयं सतहमा हिँड्न मन पराउँछन्, उनीहरुकै विचारमा स्थिरता छैन । कुनै पनि व्यक्ति, विषय वा प्रक्रियाप्रतिको दृष्टिकोण व्यक्तिपिच्छे फरक हुनु स्वभाविक हो तर पूर्वाग्रहपेरित बुझाई हुनु र सामाजिक सञ्जालको दुरुपयोग गरेर समाज भाँड्न खोज्नु भने विडम्बनापूर्ण हो, डरलाग्दो विषय हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले शब्दहरुलाई संगठित हिसाबले व्यक्त गर्न नजान्दा सामाजिक सञ्जालको शिकार भएकी छन् । कुनै पनि विषयमा लय (शाब्दिक संगठन) मिलाएर बोल्न नजान्दा धेरै व्यक्तिहरुले आलोचना र खप्की खानुपरिरहेको छ । पूर्ण आशयमा कुनै दोष नभएपनि ढंग नपुर्याएर बोल्दा प्रधानमन्त्री प्रचण्ड नै केहिदिन अघि नराम्रो गरी चिप्लिए । त्यहि विषयले संसदमा उभिएर माफी माग्नुपर्ने अवस्था सिर्जना भयो । अहिले सांसद तोसिमाको पूर्ण अभिव्यक्ति नहेरी वा नबुझी मानिसहरुले काटिएका भिडियो क्लिपका आधारमा धारणा बनाउँदै उनीविरुद्ध हमला गरिरहेका छन् । सतहमा हिँड्न मन पराउने जमातको निशानामा अहिले तोसिमा परिन्, भविष्यमा अरु पनि पर्नेछन् । आफ्नो मिसन अनुसारको शब्द केलाउने र व्यक्तिका अभिव्यक्तिलाई मिसनमा अटाउने गरी काँटछाँट गर्ने व्यक्तिहरुका बदमासीका कारण यसअघि धेरै व्यक्तिहरुले प्रताडना भोग्नुपरेको छ । अहिले तोसिमाले प्रताडना भोगिरहेकी छन् । सामाजिक सञ्जालमा उनीविरुद्ध विष वमन गरिएको छ, उनलाई श्रद्धाञ्जली दिइएको छ, परिवारका सदस्यहरुलाई हेर्न लाज लाग्ने कमेन्टहरु गरिएको छ । समग्रमा भन्दा उनको दोहोलो काढिएको छ ।

के हो विवाद र उनले बोलेको विषय ?
तोसिमाको अभिव्यक्ति भन्दा अघि आफूलाई अभियन्ता भन्ने तारा बराल र एमाले निकट पत्रकार गणेश बस्नेतका स्टाटस पढ्नुपर्छ । त्यहाँ छ अमानवीयता, त्यहाँ छ असंवेदनशीलता, त्यहाँ छ छुद्रता, त्यहाँ छ अराजकता । तोसिमाले दिएका अभिव्यक्ति गहिरिएर सुन्ने हो भने माओवादी आन्दोलन र प्रचण्डप्रति कुनै कटाक्ष भेटिँदैन, न त्यहाँ कुनै असंवेदनशील शब्द छन्, न त्यहाँ अमानवीयता झल्कने भाव छ । छ त केबल शब्दको लय र सुर नमिलेको अवस्था । डा. तोसिमा कार्की प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्न माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेकी छन् । दाहाललाई श्रद्धाञ्जली र परिवारजनलाई समवेदना दिइसकेर उनी बाहिर आउँछिन् र संचारकर्मीहरुको घेरामा पर्छिन् । सीता दाहालको प्रशंसामा शब्द खर्चेकी कार्कीले सीताको योगदानको कदर हुनुपर्ने समेत बताएकी छन् । वास्तवमै हो, सीता दाहाल प्रशंसायोग्य पात्र हुन्, सम्झिरहनुपर्ने पात्र हुन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबाट प्रचण्ड परिवारले मात्रै होइन, देशले पनि पीडा महशुस गर्नुपर्छ । श्रीमानको राजनैतिक यात्रामा श्रीमतिहरु हावी हुँदा सरकार, पार्टी र राज्य विगारेका दृष्टान्त हाम्रै सामू छन् । सीता दाहालले प्रचण्डलाई पार्टी संचालन, सरकार संचालन र राज्य संचालनका दौरान सल्लाह दिइन् होला तर उनी हावी कहिल्यै भइनन् । अनुचित लाभको लागि बार्गेनिङको धन्दा चलाइनन्, वालुवाटार र सिंहदरबारमा दौडधुप गरिनन्, ३ पटक प्रधानमन्त्री भएको श्रीमानलाई आफ्नो तर्फबाट असर पुग्ने कुनै काम गरिनन् ।

सीता दाहालबारे प्रशंसा गरेर सुरुवाती चर्चा गरिसकेपछि तोसिमालाई प्रश्न गरिन्छ । ‘प्रचण्ड आफ्नी श्रीमतीका लागि कतिसम्म महान् छन्’ ? भन्ने आशयको प्रश्नमा उनको उत्तर आशय यस्तो देखिन्छ, ‘प्रधानमन्त्री भएर आफ्नो श्रीमतीलाई समय दिएन वा केहि गरेन भने राष्ट्रको लागि वा अरु जनतालाई कसरी गर्छ भन्ने प्रश्न उठ्न सक्छ भनेर पनि उहाँले श्रीमतिलाई समय दिएको होला ।’ परिवार र सरकार तथा पार्टीबीच सन्तुलन मिलाउन प्रचण्ड सफल भएको समेत उनको भनाई देखिन्छ । यति भनिसकेपछि उनको लय विग्रन्छ । ‘पत्नीवियोग’लाई उनले ‘पत्नीयोग’ भनेकी छन् । ‘पुत्र वियोग समेत व्यहोरेर अगाडि बढेका प्रचण्ड प्रधानमन्त्री भएर गर्नुपर्ने कामका विषयमा अहिले चर्चा नगरौँ..’ भन्दै तोसिमा बरालिएकी छन् । त्यहाँ उनले संकेत गर्न खोजेको विषय के हो, उनलाई नै थाहा होला, किनकी बाँकी शब्दहरु उनको मुखबाट निस्कदैनन् ।

हुन त युद्धका क्रममा सुरक्षाकर्मी वा राज्यपक्षबाट भएको हत्या, हिंसा, लुटपाट र बलात्कारका कुरालाई कार्पेटमुनी लुकाएर माओवादीका तर्फबाट भएको कार्पेटमाथिको फोहोर मात्रै उचालिएको सत्य हो । माओवादीका तर्फबाट भएका व्यक्तिगत रिसिइबीसँग सम्बन्धित र सुराकी सफायाको नाममा भएका अमानवीय कारबाही भने सधैँ आलोच्य छन् ।

तोसिमाको पूर्ण अभिव्यक्तिबाट काटिएको भाग चाँहि ‘श्रीमतिलाई त समय दिन सकेन भने राष्ट्रलाई के गर्छ?’ भन्ने मात्रै छ । यसकै आधारमा मानिसहरुले उनलाई गाली गरेका हुन् । यस्तै अर्को भाग पनि चर्चामा छ । संचारकर्मीसँगको कुराकानीको अन्तिममा उनले प्रचण्डको पीडा महशुस गरेकी छन् । सँगै प्रधानमन्त्रीले आफ्नो परिवारमा चोट पर्दा जस्तो पीडा महशुस गर्नुभएको छ, युद्धको बेला आफ्ना प्रिय सदस्य गुमाएका परिवारमा पनि उस्तै चोट र पीडा भयो होला, त्यसलाई प्रधानमन्त्रीले महशुस गरेर काम गर्नुपर्छ भन्ने भावसहितको अभिव्यक्ति छ उनको । तर यहाँनेर यो विषय नउठाएको भए केहि विग्रदैनथ्यो ।

युद्ध भएको कुरा, युद्धमा कैयौँले ज्यान गुमाएको कुरा अहिलेको र अघिल्लो पुस्तालाई सबै थाहा छ । हुन त युद्धका क्रममा सुरक्षाकर्मी वा राज्यपक्षबाट भएको हत्या, हिंसा, लुटपाट र बलात्कारका कुरालाई कार्पेटमुनी लुकाएर माओवादीका तर्फबाट भएको कार्पेटमाथिको फोहोर मात्रै उचालिएको सत्य हो । माओवादीका तर्फबाट भएका व्यक्तिगत रिसिइबीसँग सम्बन्धित र सुराकी सफायाको नाममा भएका अमानवीय कारबाही भने सधैँ आलोच्य छन् । तर पनि तोसिमाले यसलाई हाइलाइट गर्दै अभिव्यक्ति असन्तुलित बनाउन जरुरी थिएन । उनी चिप्लिएको यहाँनेर पनि हो । तर ‘प्रधानमन्त्रीले आफ्नो परिवारजस्तै अरुको परिवारमा पनि हुने पीडालाई महशुस गर्नुपर्छ र आमनागरिकका समस्या र दुःखलाई पनि बुझ्नुपर्छ’ भन्ने कुरा कुनै कोणबाट गलत भने छैन । यहाँनेर स्मरणीय के छ भने, पुत्र प्रकाश दाहालको निधन हुँदा प्रचण्डले भनेका थिए “हजारौँ प्रकाशहरुका लागि काम गर्नुपर्नेछ ।” उनी अहिले प्रधानमन्त्रीको कुर्सीमा छन्, उनले आमनागरिकका घरघरमा रहेका प्रकाशहरुको सपना साकार पार्न प्रयत्न गर्नैपर्छ ।

कता जाँदैछ समाज ?
सूचना प्रविधिको फड्कोसँगै नेपाली समाजले त्यसको भरपुर उपयोग गरिरहेको छ । उपभोक्तावादमा रमाइरहेको नेपाली समाजले अहिले सामाजिक सञ्जाल र युट्युब, वेभसाइट लगायतका मिडियाको चरम दुरुपयोग पनि गरिरहेको छ । स्वार्थ समूहबाट प्रेरित मूलधारका समाचार, युट्युबका शीर्षक, समाचारका अंश र नियोजित रुपमा फैलाइएको अफवाहका शब्दमा अल्झिएर नेपाली समाज अनावश्यक विभक्त भएको छ । सतही कुरालाई विश्वास गर्ने, कसले किन लेख्यो भन्ने विषयमा गम्भीरतापूर्वक विश्लेषण नगर्ने, कुनै पनि समाचार वा टिप्पणीको पुरै अंश नपढ्ने वा नसुन्ने र अंशलाई उचाल्ने, कसैका बकम्फुसे कुरालाई सत्य मानेर हल्लाखल्ला गर्ने बानीको विकास भइरहेको छ । अध्ययनमा कम रुची राख्ने र अरुका कुरालाई नै बढी विश्वास गर्ने प्रवृत्ति बढिरहेको छ ।

कुनै पनि विषयमा आफ्नो धारणा नहुने अनि अरुका धारणालाई बोकेर हिँड्ने बानीको विकास भइरहेको छ । कुनै पनि विषय बुझ्न त्यसको समग्रता अध्ययन गर्नुपर्छ । समग्रता बुझ्न नसके विषयको सामान्य गहिराईसम्म पुग्ने गर्नुपर्छ । कुनै पनि व्यक्तिलाई (राजनीतिज्ञ वा जो कोही) का विषयमा अंशमा होइन, समग्रतामा बुझ्नुपर्छ । एउटै अभिव्यक्ति वा एउटै घटनाका आधारमा एकजना व्यक्ति समग्र रुपमा गलत वा सही नहुन सक्छ । यो सत्य पहिल्याउन जान्नुपर्छ । तर सतहका कुरालाई टपक्क टिपेर धारणा बनाउने र सोही धारणा अनुसार व्यवहार गर्न खोजिरहेको नेपाली समाज कुनै दिन भड्खालोमा पर्न सक्छ । उल्लेखित बानी र व्यवहारका कारण व्यक्तिको सामाजिक जीवन मात्रै होइन, पारिवारिक जीवन पनि समस्यामा पर्न सक्छ । तोसिमाको केशमा फेरि एकपटक सतहमा बरालिएको समाज थप बरालिनबाट जोगिनुपर्छ ।

पछिल्लो समय विवादित र भाइरल भइरहेको डा. तोसिमाको भिडियो क्लिप मात्रै हेरेर धारणा बनाउनु हुँदैन । पूरा भिडियो हेर्नुपर्छ । त्यसमा उनले त्यस्तो गलतै हुने वा घनघोर अपराध गरेको देखिने केहि छैन । तर यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने, मलामी जाँदा वा श्रद्धाञ्जली सभामा जाँदा क्यामेरामा मुख देखाउनै पर्ने प्रवृत्ति त्याग्नैपर्छ । सबैले आफ्नो बोली नियन्त्रण गर्नुपर्छ । नयाँ भनिएका र धेरै आश गरिएका नेता तथा व्यक्तिहरुबाट त झन् यस विषयमा गम्भीरता देखाउनुपर्छ ।

यो पढ्नु भयो ?