Ad Banner

डिजिटल माध्यमबाट ठगी बढ्दो, कोठा खोजिदिने ग्रुपले पनि छोडेन

साझा कथा । चोरी र ठगीका घटनाहरु संसारभर हुन्छ । यसबाट नेपाल कसरी अछुतो रहन्थ्यो र ? तपाई नेपालका प्रमुख शहरहरुमा बसोबास गदै आउनुभएको छ भने तपाईले चोरी र ठगीका अनेक घटनाहरु देख्दै र सुन्दै पक्कै आउनुभएको होला । सुनचाँदी पसल तोडफोडदेखि विभिन्न मन्दिरबाट मुर्तिसमेत चोरी भएका समाचार त सामान्य भइसके । विज्ञानले नयाँ नयाँ कुराहरु पत्ता लगाएझैँ ठगी गर्नेहरुले पनि नयाँ नयाँ माध्यमहरु पत्ता लगाइरहेका छन् ।

विज्ञान प्रविधिको उच्चतम विकाससँगै डिजिटल माध्यमबाट ठगी, चोरी गर्नेहरुका लागि पनि सहज भएको छ । नेपालमा अबैध मानिएका थुप्रै अनलाईनबाट दैनिक अर्बौको कारोबार भइरहेको छ । कम लगानीमा धेरै कमाउने लोभमा परी कैयौँ सर्बसाधारण दिनहुँ ठगिदै आएका छन् । खोतल्दै जाने हो भने अनलाइन मार्फत नेपालमै ठगिएका व्यक्तिहरु हजारौँ छन् ।

हालैमात्र वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने गरेको आरोपमा ख्यातिप्राप्त कलाकारहरु परे । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’, राजु मास्टर, म्याकुरी लगायत कलाकार र युट्युबरहरु पक्राउ परेका थिए । उनीहरु भन्दा अगाडि वान एक्स बेटमा करौँडौ रकमको सट्टेबाजी गर्ने गिरोहलाई पनि प्रहरीले प्रक्राउ गरेको थियो ।

केहि समय पहिला नेपालमा इन्स्भिडियो पुस र लाईक भिडियो पुस भनेर दुईटा अनलाईन अर्निङ साईटको बारेमा नेपालीले थाहा पाए । इन्स्भिडियो पुसमा धेरैजसोले त पैसा लोनमा लगेर समेत लगानी गरेका समाचारहरु सुन्न पाईएको थियो । इन्स्भिडियो पुस मार्फत नेपालमा लगभग दुई, तीन महिनामै १ अर्ब बढी रुपैँया ठगिएको थियो । लाईकभिडियो पुस त नेपाल भित्रिएको डेढ महिनामै हटेको थियो । तर धेरै नेपालीहरु ठगिनबाट जोगिएनन् । नेपालीहरु ठगिएका मात्र छैनन्, केहि नेपालीहरुले मनग्य कमाएका पनि छन् ।

कैलालीको लम्कीचुवा–१० का एक २५ वर्षीय युवक नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरेको घटना सार्वजनिक भएको थियो । उनको खातामा तीन महिनाको अवधिमा ३७ करोड गैरकानुनी रुपैँया जम्मा भएको खुलेको थियो । अनुसन्धानका क्रममा उनलाई उनकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै साथी अनिता धितालले समेत सहयोग गरेको खुलासा भएको थियो । नेपालमा आएको विएसआर भन्ने अर्को अनलाईन अर्निङले पनि नेपालीहरुको केहि रकम ठगी गरेर भागेको थियो ।

आफ्ना चिनेजानेकाहरु भेट्न समेत मुस्किल हुने यो काठमाडौँमा ठगी गर्नेहरुलाई भेट्टाउनु त टाढैको विषय हो । यसमा सचेत नागरिकहरुले प्रहरीलाई तुरुन्त खबर गर्ने र यस्तो ठगीलाई निरुत्साहित गर्ने गर्नुपर्दछ ।

क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकले विज्ञप्ति निकाल्दै यस्तो कारोेबारमा संलग्न नहुन आग्रह गरेको थियो । त्यसको पाँच महिना पछि पुन नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न र गरेमा कडा भन्दा कडा कार्बाही समेत गर्ने भनी सुचना निकाल्दै चेतावनी समेत दिएको थियो ।

यसका बावजुत पनि नेपालमा अवैध मानिएका यी अनलाइनमार्फत ठगीको क्रम रोकिएको भने छैन । विश्वका विभिन्न देशहरुमा डिजिटल अनलाइन कारोबार – बिट्क्वाइन, इथर, सोलान, कारडानो, हेक्स, बिटक्वाइन क्यास, लाइक्वाइन, टेरान, पीआई लगायतका डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार हुँदै आएको छ । विश्वका केही मुलुकहरुमा यी अनलाइन करोबार प्रचलनमा रहेपनि नेपालमा भने अहिलेसम्म कानुनी मान्यता दिइएको छैन । क्रिप्टोकरेन्सी नेपालमा प्रतिबन्धित भए पनि अवैधरुपमा कारोबार गर्ने देश मध्ये १६औँ स्थानमा रहेको भन्दै बीबीसीले समाचार छापेको थियो ।

एउटा हाँस्यास्पद समाचार यहाँहरुले पनि सुन्नुभएकै होला, नेपालीहरुलाई कोरिया पठाईदिन्छु भन्दै विराटनगर पु¥याएर लाखौँको ठगी गरेको समाचार । अमेरिका, क्यानडा, कम्बोडिया, जर्मनी, बेलायत, सिंगापुर, पोर्चुगल, माल्दिभ्स, दुबई, चेक रिपब्लिक लगाएतमा पठाइदिन्छु भन्दै अबौँ रकमको ठगी गरेको देखि सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाटसएप लगाएत माध्यममा लाखौँको चिठ्ठा पर्यो भन्दै ‘लक्की विजेता’को नाममा पनि कैयौँ नेपाली ठगिदै आएका छन् ।

अनलाइनबाट ठगी गर्नेहरुको लिष्टमा कोठा खोज्ने प्लेटफर्म पनि थपिएको छ । काठमाडौंमा पहिलोपटक कोठा खोज्दै गरेका मात्रै होइन पहिलेको कोठा छोडेर अर्को कोठाको खोजी गर्दै गरेकाहरु पनि ठगहरुको शिकार भएका छन् । सामाजिक सञ्जाल फेसबुकको मार्केट प्लेस, हाम्रो बजार, कोठा खोजिदिने ठाउँ, रुम भाडा लगायतमा भेटिने कोठाहरुको बारेमा बुझ्न सुरुमै अनलाईन पे गर्नुपर्ने शर्त राखेर ती ग्रुपले ठगी गरिरहेका छन् । अनलाइन पे गरिसकेपछि कल रिसिभ नगर्ने र मोवाइल स्वीचअफ नै गर्ने गरेका छन् । कोठा नपाएर भौँतारिनेहरु यस्तो ठगीमा पर्दा झन् समस्यामा पर्ने गरेका छन् ।

काठमाडौँको मैतीदेवीमा बस्दै आएका अछामका एस वि.कको अनुभव यस्तै छ । भन्छन्, सुरुमा काठमाडौँमा कोठा खोज्नका लागि फेसबुकमा एउटा ग्रुप देखे र म्यासेज पठाए उनीहरुको रिप्लाईमा कोठा हेर्नका लगि पहिला एडभान्स दिनुपर्छ त्यो पनि अनलाइनबाट । एक हजार रुपैँया अनलाइनमा राखिसकेपछि कोठा खोज्दिने मान्छे सम्पर्क विहिन भए । मैले धैरै पटक अन्य नम्बरबाट पनि फोन गर्ने कोसिस गरे तर फोन लागेन । विक त एक प्रतिनिधी पात्र मात्रै हुन् । उनीजस्तै काठमाडौं सहरमा ठगिने सर्बसाधारण हजारौ छन् । यसरी खुलेआम ठगी गरेको प्रमाण हुँदाहुँदै पनि उजुरीका घटना भने कम छन् । एक हजारको लागि कसैले पुलिस चौकीमा गएर उजुरी पनि नगर्ने बानीका कारण पनि यस्ता घटना दोहोरिएका छन् । आफ्ना चिनेजानेकाहरु भेट्न समेत मुस्किल हुने यो काठमाडौँमा ठगी गर्नेहरुलाई भेट्टाउनु त टाढैको विषय हो । यसमा सचेत नागरिकहरुले प्रहरीलाई तुरुन्त खबर गर्ने र यस्तो ठगीलाई निरुत्साहित गर्ने गर्नुपर्दछ ।

यो पढ्नु भयो ?