Ad Banner

डेंगु नियन्त्रणको लागि पहिलोपटक बार्षिक कार्ययोजना

साझा कथा । डेंगु देखापरेको १९ वर्षपछि नेपालले पहिलोपटक वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो ।यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाई ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिका बारेमा स्पष्ट पारिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीका अनुसार बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरिएको छ ।

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिए । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण देखिएको उल्लेख गर्दै उनले भने, ‘‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण देखिएको छ ।’’

डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय जरुरी छ । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । मनसुन बढेसँगै डेंगुका बिरामीको सङ्ख्या पनि बढिरहेको छ । थोरै पानी जम्यो भने पनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ । त्यसकारण प्रत्येक दिन हाम्रो घर आँगन, कार्यालय वरिपरि घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ । डेंगु वर्षायामको सुरुसँगै बढ्ने कीटजन्य रोग हो । एडिस एजिप्टाई–एल्बोपिक्टर्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना सङ्क्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिले पनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गतवर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगु सङ्क्रमण देखिएको थियो ।

‘‘डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान महत्त्वपूर्ण मानिन्छ । यो अभियानलाई कार्ययोजना नै बनाएर अघि बढ्न सके एकदमै राम्रो हुन्छ नै । सर्वसाधारणले पनि जथाभावी ड्रम फाल्ने, लामखुट्टे बस्ने वातावरण सृजना गर्नु हुँदैन । मुख्यतः अव्यवस्थीत शहरीकरणले डेंगु जोखिम निम्त्याउँछ । ग्यारेजमा फालेका टायरहरु राखिन्छन् । फालेका टायरहरु लामखुट्टेका लागि स्वर्ग जस्तै हो । वृत्ति विकास हुन्छ । त्यहाँबाट नै लामखुट्टेहरु तपाइँ हाम्रो घरघरमा आइपुग्छ ।

यो पढ्नु भयो ?