साझा कथा । गर्मीमा तपाई आइसक्रिमको पारखी पक्कै हुनुहुन्छ होला । केहि व्यक्तिहरुले जाडोमा पनि आइसक्रिम खाइरहेको देख्दा तपाई जिब्रो टोक्नुहुन्छ होला । हो पनि, गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन् । आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । त्यसैले जाडोमा कसैले खाएको देख्दा अचम्म मान्नु स्वभाविकै हो ।
तर कैयौं स्वास्थ्य विज्ञका अनुसार आइसक्रिम खाँदा मुखमा चिसो लागे पनि शरिरमा भने यसको प्रभाव तातो हुन्छ । आइसक्रिममा चिनी, बोसो र दूधको मात्रा बढी हुने भएकाले यो शरीरभित्र जाँदा यसलाई तोड्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, जसका कारण शरीरमा गर्मी उत्पन्न हुन्छ । यसै कारण हो आइसक्रिम खाँदा धेरै तिर्खा लाग्छ ।
वास्तवमा चिसो मौसममा आइसक्रिम खानु बढी फाइदाजनक हुन्छ । विज्ञहरुका अनुसार चिसोका कारण धेरैलाई घाँटी दुख्ने, रुघाखोकी लाग्ने हुन्छ । यस्तो अवस्थामा आइसक्रिम खाँदा ती समस्याहरु हट्ने विज्ञहरुको भनाई छ । आइसक्रिमको प्रभाव तातो हुने भएकोले जाडोमा खाँदा राहत मिल्न सक्छ ।
तर जाडोमा आइसक्रिम खाँदा फाइदा हुन्छ भन्दैमा धेरै आइसक्रिम खानु हुँदैन । यसमा चिनीको मात्रा धेरै हुने भएकोले सुगर विरामीहरुले खानु हुँदैन । गर्मी मौसममा पनि आइसक्रिमको सट्टा स्वस्थ पेय पदार्थ पिएर आफ्नो शरीरलाई चिसो बनाउन सकिन्छ । लस्सी, कागती पानी, जलजीरा, आँप, शरबत आदि खाएर शरिरलाई सन्तुलित बनाउन सकिन्छ । यी पेय पदार्थहरूले हाम्रो शरीरलाई शीतलता दिन्छ । साथै शरिको स्वास्थ्यको लागि पनि यी लाभदायक छन् ।