Ad Banner

अझै तौलिएन बरामद भएको १ क्विन्टल सुन, राजश्वले पत्र नै पठाएको छैन राष्ट्र बैँकलाई

साझा कथा । पछिल्लो साता सनसनी मच्चाएको १ क्विन्टल सुन बरामद गरिएको काण्ड अझै सेलाइसकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यहि प्रकरणलाई जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध सुरु गरेको छ । एमालेको अवरोधका कारण संसद बैठक साउन १५ सम्म स्थगित भएको छ । तर बरामद गरिएको भनिएको सुनको वास्तविक तौल अझै आएको छैन । राष्ट्र बैँकको टक्सार शाखामा रहेको सुन तौलन पनि सुरु गरिएको छैन । कहिले तौलन सुरु गरेर कहिले परिणाम सार्वजनिक हुने हो, त्यो पनि निश्चित छैन ।

अधिकारीहरूका अनुसार सुन बरामद गर्ने निकाय राजश्व अनुसन्धान विभागमा फोन गरेर र त्यहाँ पुग्ने सेवाग्राहीले समेत सुनका बारेमा चासो राख्ने गरेका छन् । अघिल्लो मङ्गलवार बरामद गरिएको उक्त सुन बिहीवार राष्ट्र ब्याङ्कलाई बुझाइएको थियो । मोटरसाइकल र स्कुटरमा लाग्ने ‘ब्रेक शू’ भनेर ल्याइएको सुनको जम्मा वजन १५५ किलो रहेको बताइएको थियो । तर ‘ब्रेक शू’बाट छुट्टाएर सुन पगालेपछि त्यसको वास्तविक तौल निस्कन्छ ।

सुनको तौल करिब १०० किलो भएको बताइएपनि वास्तविक तौलबारे अन्यौल छ । ब्याङ्कका अधिकारीहरूका अनुसार राजश्व अनुसन्धान विभागले तौल लिने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि मात्रै उक्त प्रक्रिया सुरु हुनेछ । ब्याङ्कको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार पत्र पाएपछि नेपाली सेना, सुरक्षाकर्मी, मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा, आन्तरिक लेखा परीक्षण र राजश्व विभागका प्रतिनिधिको रोहबरमा सुन राखिएको पोका खोलिने छ र सुनलाई अलग गरेर गलाइनेछ । त्यसपछि त्यो सुन भए वा नभएको अथवा सुनको शुद्धता वा गुणस्तर पहिचानको निम्ति नमुना निकालेर प्रयोगशालामा परीक्षण गरिन्छ ।

तर विभागले बैँकलाई अहिलेसम्म किन पत्र पठाएन होला त ? त्यसबारे सर्वसाधारणदेखि सामाजिक राजनैतिक व्यक्तिहरुले चासो राखिरहेका छन् । बरामद भएको सामानसँग अनुसन्धानको प्रक्रिया पनि जोडिने भएको हुनाले अनुसन्धानको प्रक्रियाको एउटा चरण पार गरेपछि पत्र पठाउने तयारीमा विभाग छ । अनुसन्धानको पहिलो चरण नै नसकिएको हुनाले पत्र नपठाइएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले भनेका छन् । अनुसन्धानकर्ताहरूको टिम पनि पूरा भइसकेको र तौलको निम्ति केही दिनमै प्रक्रिया सुरु हुनसक्ने अधिकारीहरूले जनाएका छन् । उक्त सुन तस्करी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

यो पढ्नु भयो ?