Ad Banner

‘रेडि ट्रेड’ दिपक मलहोत्राको कम्पनी ? २ महिनायता ल्याएका सबै ‘ब्रेक शु’मा सुन रहेको पुष्टि

साझा कथा । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १ क्विन्टल सुन भित्र्याएको रेडी ट्रेड प्रालिले २ महिनायता १२ सय किलो ‘ब्रेक शु’ भित्र्याएको देखिएको छ । विहीबार विहानै राजस्व अनुसन्धान विभागको टोलीले रेडी ट्रेडको गोदाममा छापा मारेको छ । काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मार्दा थप ११ सय किलो बराबरको ब्रेक शु बरामद गरिएको छ । यसअघि सुन लेपन लगाइएको १५५ किलो बराबरको ‘ब्रेक शु’ बरामद भइसकेको छ । त्यसमा कति किलो सुन छ भन्ने पुष्टि हुन बाँकी छ ।

एक जना मजदुरको नाममा दर्ता गरिएको रेडी ट्रेड प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको ६६ कार्टुन ‘ब्रेक शु’मा पनि सुन रहेको पुष्टि भएको हो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको जनाइएको छ । प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनाएको छ ।

साथै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको पुष्टि भएको छ । यसैबीच सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई आजै पक्राउ गरिएको छ । उनीमाथि तस्करहरूलाई गोदाम खोजिदिएको अभियोग छ । उनीसहित अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मजदुरको नाममा दर्ता भएपनि सो कम्पनी खासमा व्यवसायी दिपक मलहोत्रा र व्यापारी राकेशकुमार अडुकियाको भएको स्रोतको दाबी छ । अडुकियाको घरमा त प्रहरीले बुधबार साँझ छापा मारेको छ । उनी नेपाल हङकङ आउजाउ गरिरहने गरेको पनि देखिएको छ । उनी एक महिनाअघि मात्रै काठमाडौंबाट दिल्ली हुँदै हङकङ पुगेका थिए । उनीसँग नेपाल भारत दुवै देशको नागरिकतासमेत रहेको बताइन्छ । उनी विदेश भ्रमण गर्दासमेत नेपाल र भारतीय दुवै राहदानी प्रयोग गर्ने गरेको स्रोत बताउँछ । मलहोत्रालाई केपी ओली नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिसिटिभी राख्नेदेखि व्यवस्थापनको जिम्मा दिएको थियो ।

रेडि ट्रेड कम्पनीको मालिकको रुपमा दोलखा शैलुङ गाउँपालिकामा पर्ने पवटी गाउँका दिलीप भुजेलको नाम छ, जो आफैँमा मजदुर हुन् । उनी काठमाडौंको साँखुमा मजदुरी गर्छन् जसको परिवारमा दुईछाक खानको लागि नै दैनिक मजदुरी गर्न पर्दछ । मलहोत्रा निकट व्यक्तिहरुले भुजेलको नाममा कम्पनी खडा गरेका थिए । भुजेललाई उनका मामाले २० हजार नगद दिएर नागरिकता र हस्ताक्षर प्रयोग गर्न प्रलोभन दिएको खुलिसकेको छ । भुजेल अहिले हिरासतमा छन् ।

यो पढ्नु भयो ?