साझा कथा । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्य घटाएसँगै बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने निर्णय गरेको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।
नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्य स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलले भने, “नेपाल आयल निगमले इन्धनको मुल्यमा स्वचालित प्रणाली लागु गरेसँगै इन्धनको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको हो ।”
उनका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उनले बताए ।
काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने बित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अब १८ रुपियाँ तिर्नुपर्ने सूचना अधिकारी पौडेलले बताए । काठमाडौँ उपत्यकामा पाँचदेखि १० किलोमिटरसम्म चढ्ने बित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ ।