Ad Banner

जनशक्ति अभावमा स्टोरमै थन्कियो ‘लम्पी स्किन’को खोप

साझा कथा । विश्व पशु स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एकै पटक लाखौँ पशुलाई कुनै खालको सङ्क्रमण देखिए भने त्यसलाई नियन्त्रण गर्न कम्तीमा ८० प्रतिशत पशुहरुमा खोप लगाउनुपर्ने हुन्छ । तर नेपालमा तीन महिनायता गाईभैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग विरुद्धको खोप भने ३ प्रतिशतमा पनि लगाइएको छैन । सो रोग नियन्त्रणको भरपर्दो उपाय पनि खोप नै हो तर अहिलेसम्म नेपालमा रहेका एक करोड २६ लाख गाइभैँसीमध्ये तीन लाख १२ हजार २४६ पशुलाई मात्र खोप लगाइएको छ । जुन ३ प्रतिशत पनि होइन ।

खोपको अभाव र भएको खोप लगाउने दक्ष पशु स्वास्थ्यकर्मीको अभावमा खोप कार्यक्रम सुस्त रहेको छ । नेपालमा १० लाख मात्रा खोप भित्रिएकोमा झन्डै सात लाख मात्रा खोप लगाउन सकिएको छैन । पशुसेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालका तीन लाख १२ हजार ४६ पशुलाई मात्रै ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ ।

पशु प्राविधिक उद्धवप्रसाद सापकोटाका अनुसार यसअघि विश्वमा पशुमा फैलिएका ठुला महामारीलाई नियन्त्रण गर्न पनि यस्ताखालको विधिको प्रयोग गरिएकाले नेपालमा पछिल्लो समय फैलिएको ‘लम्पी स्किन’ सङ्क्रमण रोक्न खोपबाहेक अरू विकल्प छैन । आक्रामक रूपमा फैलिएको ‘लम्पी स्किन’ तत्काल रोक्न एक करोड मात्रा खोप आवश्यक पर्छ । अहिलेसम्म नेपालमा १० लाख मात्रा खोप मात्रै आयात भएको छ । १० लाख मात्रा खोपमध्ये अझै सात लाख मात्रा खोप पशुलाई लगाइएको छैन ।

सरकारले ‘लम्पी स्किन’ रोगविरुद्धको तान्जानियाले उत्पादन गरेको लाइभ एलएसडी, जोर्डनको लम्पी सिल्ड–एन र टर्कीले उत्पादन गरेको लम्पीभ्याक खोपलाई अनुमति प्रदान गरी आयात गरेको छ । नेपालमा तीन वर्षअघि देखिए पनि लम्पीले विकराल रूप लिएको भने चार महिना मात्रै भएको छ । चार महिनाको अवधिमा बल्ल तीन लाख पशुमा खोप लगाइएको छ ।

लम्पीका कारण एक खर्ब २६ अर्ब रुपियाँ बराबरको पशुधनमा क्षति पुगेको आकलन हुँदा पशु स्वास्थ्यको क्षेत्रमा रहेको जनशक्तिको अवस्था दयनीय देखिएको छ । नेपालले तत्कालै एक करोड मात्रा खोप आयात गरे पनि खोप लगाउने जनशक्तिको भने अभाव छ ।

यो पढ्नु भयो ?