Ad Banner

डेढ महिना भयो मनसुन भित्रिएको तर खण्डीकृत भयो बर्षा

साझा कथा । केहिदिन अघि धनुषामा पानी नपरेको भन्दै सामूहिक पुजा आयोजना गरिएको थियो । पानी माग्दै कैयौँ लिटर दुध धर्तीलाई चढाइयो पनि । पश्चिम तराईका केहि जिल्लामा अहिले पनि रोपाईँ भएको छैन । रोपाईँ भएको ठाउँमा पानी नपुगेर धानको विरुवा पहेँलो हुन थालेको छ । पूर्वी भूभाग र मध्ये नेपालका केहि जिल्लामा ठूलो जनधनको क्षति हुने गरी बर्षा भएपनि मुलुकका अधिकाँश ठाउँमा पर्याप्त पानी नै परेको छैन । खेतीपाती कम हुने काठमाडौं उपत्यकामा भने दिनहुँ पानी परिरहेको छ । जहाँ आवश्यक छ, त्यहाँ बादल नै देखिँदैन । यसपालिको मनसुन यस्तै भएको छ ।

अहिलेसम्म देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर पोहोरको यही अवधिको तुलनामा ८५.४ प्रतिशत वर्षा भएको छ ।

शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म देशभरमा ६ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए ।

‘देशभर हालसम्म सरदरको ८५.४ प्रतिशत वर्षा भएको छ । जुन सरदरभन्दा कम वर्षा हो,’ हुमागाईंले भने । मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भूभागमा सरदरभन्दा कम वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा सरदरभन्दा बढी वर्षा भएको छ ।

ताप्लेजुङ, काठमाडौँ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ । मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्याङ्गका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसँग वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यो पढ्नु भयो ?