Ad Banner

कोशीमा सरकार निर्माणको सकस, एमाले र माओवादीको सरकार बनाउन गोप्य कसरत

साझा कथा । कोशी प्रदेशमा नयाँ सरकारको गठन सकसपूर्ण बनेको छ । कुन पार्टीको नेतृत्व र कुन गठबन्धन भन्ने अझै प्रष्ट चित्र आउन सकेको छैन । नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेभित्र बहुमतसहित दाबी पेस गर्न समयसिमा तोकिएको छ । तर अझै पनि अहिले निर्माण भएका दुई अलग गठबन्धन कसैको पनि प्रष्ट बहुमत नदेखिँदा सरकारको चित्र प्रष्ट हुन नसकेको हो । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आजसम्मको समय दिएका छन् ।

प्रदेश सभामा रहेको कुल ९३ सांसदमध्ये सभामुखलाई छोडेर हेर्दा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीसँग ४६ सांसद र अर्को गठबन्धनमा रहेको एमाले र राप्रपासँग पनि ४६ सांसदको साथ छ । त्यसो हुँदा सत्तापक्षीय गठबन्धनको बहुमतको सरकार गठनको लागि सभामुखले राजीनामा दिनुपर्ने हुन्छ तर सभामुख बाबुराम गौतम यसका लागि अझै तयार भइसकेका छैनन् ।

प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । विश्वासको मत लिँदा पक्ष र विपक्षमा बराबर मत भए जेष्ठ सदस्यले मत दिन पाउनेछन् । तर त्यो दिन विपक्षीको तर्फबाट १ जना सदस्य अनुपस्थित रहे मत बराबर हुनेछैन ।

सभामुखको हस्ताक्षरसहित गणना गरेर यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले नयाँ सरकार बनाउन आदेश दिएको थियो । शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख गौतमलाई राजीनामा गराउनेबारे छलफल भएको थियो । तर, यो प्रयास पनि सफल भएको छैन । यस्तै, गठबन्धनले राप्रपालाई पनि फकाउने क्रम जारी राखेको छ । तर, सकारात्मक जवाफ आएको छैन।

सभामुख गौतमले अहिले राजीनामा दिएर काँग्रेसको नेतृत्वमा सरकार गठन भएपनि एक महिनाको बीचमा विश्वासको मत लिँदा समस्या पर्ने देखिन्छ । सभामुखले राजीनामा दिए उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ । सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । विश्वासको मत लिँदा पक्ष र विपक्षमा बराबर मत भए जेष्ठ सदस्यले मत दिन पाउनेछन् । तर त्यो दिन विपक्षीको तर्फबाट १ जना सदस्य अनुपस्थित रहे मत बराबर हुनेछैन । प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थित गराए बराबर मत पुग्दैन र अध्यक्षले निर्णायक मत दिन पाउँदैनन् ।

यस्तो अलमलका बीच काठमाडौंमा केहि नेताहरु भने एमाले र माओवादी सम्मिलित सरकार बनाउन कसरतमा जुटेका छन् । गोप्य रुपमा थालिएको यो छलफलको नेतृत्व माओवादी केन्द्रका नेता बर्षमान पुनले गरिरहेका छन् । बामपन्थी सरकार बनाउनुपर्ने तर्क गर्दै पुनले एमाले र माओवादीका नेताहरुबीच छलफल चलाइरहेको स्रोतले बताएको छ । यसअघि कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर प्रचण्डलाई बालकोेट पुर्याउन पनि पुनले महत्वपूर्ण भूमिका खेलेका थिए। कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न संयुक्त सरकार बनाउनेबारे पनि छलफल चलिरहेको छ ।

यो पढ्नु भयो ?