देशैभर बाढीपहिरो – कहाँ के भयो ? यस्तो छ क्षति (तस्बिरहरु सहित)

साझा कथा । सोमबार रातिदेखि परेको अविरल बर्षापछि देशैभर बाढीपहिरोले वितण्डा मच्चाएको छ । काठमाडौंमै पनि विभिन्न खोलाहरु बस्तीमा पसेका छन् भने देशका कैयौँ राजमार्ग अवरुद्ध भएका छन् । बाढी पहिरोमा परेर केहि व्यक्तिले ज्यान गुमाएका छन् भने जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको नयाँ बसपार्क, सामाखुशी क्षेत्रमा विष्णुमति खोलाको बाढी पस्दा डुबान भएको छ । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बगेको छ, पानी घर र पसलहरूमा पसेको छ ।

Teku Dobhan

यस्तै अनामनगर, घट्टेकुलो क्षेत्रमा पनि डुबान भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको महाशाखाको भनाइ छ । बनस्थली ढुंगेधारामा बस्ती र सडकमा खोला बगेको छ । विष्णुमति खोलामा आएको बाढी बल्खु तरकारी बजारमा पसेको छ र तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।

अविरल बर्षाका कारण मकवानपुरको बागमती गाउँपालिकामा पर्ने खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ । मकवनपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभान बस्दै आएका अकलबहादुर स्याङतानको घर पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

उता चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । मंगलबार विहानबाट एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

यस्तै, पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलबार राति करिब ११ बजे पहिलो खसेपछि अवरुद्ध भएको उक्त सडक अझै सुचारु हुन सकेको छैन । पहाडी जिल्लाबाट आएका गाडी बाटोमै रोकिएका छन् । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नदीमा आएको बाढीमा परी फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । सोमबार राति अचानक आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्धार गरिएको हो । करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेका ५ पुरुष र १ महिलाको ११ बजे राति उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

यो पढ्नु भयो ?