Ad Banner

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध, बस्ती उच्च जोखिममा

साझा कथा । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढी गर्दा अवरुद्ध भएको छ। लगातार आएको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत संघ र प्रदेश सरकारले बेवास्ता गरेको अध्यक्ष शेर्पाले गुनासो गरे।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनले बताए। ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । बजेट विकासमा खर्च गरौँ कि खोलामा लगेर हालौँ ? ’ उनले प्रश्न गरे।

अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थल सम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए।

अध्यक्ष शेर्पाका अनुसार अहिले पाटी भञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ। बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए।

अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको बताए। गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले समस्या सिर्जना भएको उनको भनाइ छ।

‘खोलालाई पुरानै धारमा फर्काउनकरोडौँ बजेट खर्च भयो तर अहिले उपलब्धि केही छैन’, उनले भने, ‘आगामी दिनमा हेलम्बुमा दीर्घकालीन योजनाबिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु।’

यो पढ्नु भयो ?