Ad Banner

आज बाहिरिने भनिएको मनसुन लम्बियो – “तत्काल धान नकाट्नु”

साझा कथा । जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय अक्टोबर २ लाई अनुमानित समय बनाएको थियो । त्यो भन्दा अघिल्ला बर्षहरुमा मनसुन भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । तर पछिल्लो समय तोकिएको मितिभन्दा ढिला गरी मनसुन बाहिरिइरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यो साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन एक साता भन्दा बढी समय लाग्ने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । विभागको अनुमान अनुसार अक्टोबर–२ देखि बाहिरिनुपर्ने मनुसुन अझै सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताए । उनले मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए ।

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली भइरहेको छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई–तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ” उनले भने ।

उनका अनुसार नेपालमा पूर्वबाट मनसुन भित्रिन्छ भने पश्चिमबाट बाहिरिन्छ । सोमबार रातिसम्म नेपालका कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ ।

यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको थियो । यसपालि मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठुलो धनजनको क्षति भएको थियो । यसपालि १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थानमा सरदरभन्दा बढी बर्षा भएको छ ।

यो पढ्नु भयो ?