साझा कथा । सुदुर पश्चिमको बझाङमा सोमबार दुई पटक भूकम्प गएको छ । दुई पटक गएकोमध्ये कुन मुख्य र कुन परकम्प हो भन्नेमा द्वीविधा सिर्जना भएको छ । २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको थियो । पहिलो पटक गएको भूकम्प ५.३ म्याग्नेच्युडको थियो भने दोस्रो भूकम्प ६.३ म्याग्नेच्युडको थियो ।
भूकम्पमा परी दर्जनौँ घर भत्किएका छन् भने दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरू गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।
पटक-पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।