साझा कथा । २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा रहेको होटल स्वस्तिक नजिकै २९ वर्षिय चेतन मानन्धर एक्लै थिए । मानन्धर ठेक्कापट्टामा संलग्न व्यक्ति थिए । एक्कासी उनीमाथि खुँडा प्रहार भयो । उनी भाग्न खोजे । तर ४ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई लखेटीलखेटी खुँडा प्रहार गरिरहे । त्यसपछि उनको ज्यान गयो ।
हत्यामा संलग्न भएको भन्दै प्रहरीले पालैपालो १२ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेहरु रुकुम पेउघा–७ का २२ वर्षीय प्रशान्त गौतम, बाँके शम्शेरगञ्ज–६ का २९ वर्षीय नवराज खत्री, सुर्खेत विरेन्द्रनगर–६ का २२ वर्षीय विशाल बस्नेत, छिन्चु–२ का २५ वर्षीय मोहन खड्का, बाँके महादेवपुरी २ का २१ वर्षीय केशव रोकाय, नेपालगन्ज ५ का ३२ वर्षीय प्रितम थापा थिए । यस्तै नेपालगन्ज १६ का ३२ वर्षीय माधव परीयार, प्यूठान सेउलीवाङ्ग घर भई नेपालन्ज ५ बस्ने २५ वर्षीय यमबहादुर बुढामगर, नेपालगन्ज १८ का मनिश चौलागाई पक्राउ परे । त्यसको केहि समयपछि नेपालगन्ज २४ का सोहनसिंह ढकाल र नेपालगन्ज कारकादौँका दीपेन्द्र सिंह पनि पक्राउ परे ।
यी सबै पक्राउ पर्दा पनि मुख्य अभियुक्त भने पक्राउ परेका थिएनन् । ती मुख्य अभियुक्त थिए नेपाली काँग्रेसका स्थानीय नेता तथा गुण्डा नाइके रिगल नामले परिचित योगराज ढकाल । त्यो बेला गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर शृंखला चलाएपछि रिगलले ज्यान जोगाउने उद्देश्यले आत्मसमर्पण गरेका थिए । मानन्धरको हत्या गर्नका लागि रिगलले नै युवाहरुलाई नेपालगन्ज बोलाएर न्यूरोडस्थित इन्द्रेणी होटलको १०४ नं कोठामा आफ्नै नाममा कोठा बुक गरी बसालेको पाईएको थियो ।
चेतन मानन्धरको हत्या हुनुमा गुण्डागर्दीमा संलग्नहरुबीचको लेनदेन र रिसीइबी थियो । बाँके जिल्लामा हुने ठेक्कापट्टा र व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा विवाद हुँदै जाँदा घटनाले उग्ररुप लिएको थियो । यो सँगै उनीहरुबीच भारतबाट नेपाल आएर सन्चालन हुने अबैध बसहरुबाट हप्ता असुली गर्ने बिषयमा पनि विवाद थियो ।
हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३–३ वर्ष कैद सजाय सुनाएको थियो ।
रिगललाई जन्मकैद फैसला भएपछि मानन्धर परिवारले न्यायको अनुभूति गरेको थियो । साबिक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । असोज ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जनालाई आममाफी दिए, त्यसमध्येका एक थिए उनै रिगल । उनलाई रिहा गर्नका लागि नेपाली काँग्रेसले सरकारमाथि दवाव बढाएको थियो । कारण, उनी तरुण दल बाँके क्षेत्र नम्बर ३ का सभापति थिए ।
जिल्ला कारागार दाङबाट रिगल रिहा भएपछि अस्वभाविक ‘विजय जुलुस’ र सवारी लावालस्कर निस्कियो उनको स्वागतको लागि । तामझामसहित रिगल नेपालगन्ज पुगेका थिए । हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएकामा जनस्तरबाटै विरोध भइरहेको छ । अनि असाध्यै पीडा र तनावमा छन् चेतनका बुबा आमा र ११ बर्षीय छोरा लगायतका आफन्त ।
चेतनको हत्या भएपछि उनकी श्रीमति भारती मानन्धरले अर्को विवाह गरेकी थिइन् । घरसल्लाहमै भारतीले अर्को विवाह गरेर घरजम गरिरहेकी छन् । अहिले उनी आफ्नो पूर्व श्रीमान्का हत्यारालाई आममाफी दिइएको विरोधमा माइतिघर मण्डलामा अनशन सुरु गरेकी छन् । आममाफी विरुद्ध सर्वोच्चमा रिट समेत हालेकी छन् उनले । न्यायको लागि नेपालगन्जबाट काठमाडौं आएकी भारतीको समर्थनमा आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्दै छन् । भारतीले भनेकी छन्, ‘मनदेखि नै म उहाँ (चेतन)लाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’
सरकारले भने अपराध हुँदा कायम कानुनी प्रबन्ध अनि सर्वोच्चको परमादेशलाई आधार मानेर रिगललाई बाँकी सजाय मिनाहा गरिएको दाबी गरेको छ । कारागार व्यवस्थापन विभागले पनि कानुनअनुसार नै रिगलसहितका कैदी संविधान दिवसका दिन छुटेको बताएका छन् । ४० प्रतिशत सजाय भुक्तान गरेको व्यक्तिलाई प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिस भई आएमा (असल चालचलनका आधारमा) कैद कट्टा गर्न सिफारिस गर्ने चलन छ ।
तर संविधानका जानकारहरु व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका दोषीलाई दिइने माफी मिनाहा अपारदर्शी, विभेदकारी भएको र त्यसले पीडितलाई थप आहत दिने गरेको बताउँछन् । रिगलजस्तै कैद सजाय भुक्तान गरिरहेका अन्य व्यक्तिहरुको हकमा भने यस्तो आममाफी दिइएको छैन । पार्टीको स्थानीय नेता भएकै आधारमा नेपाली काँग्रेसको दवावमा सरकारले यस्तो निर्णय गरेको जानकारहरु बताउँछन् । ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको छ ।
अब के होला ?
भारतीले पूर्वपतिको न्यायको लागि मुद्दा हालेपनि कानूनले उनको पक्षमा निर्णय गर्ने देखिन्न । कानून अनुसार जन्मकैद पाएको व्यक्तिले ४० प्रतिशत जेल सजाय भुक्तान गरिसकेको र उसको चालचलन असल देखिएको खण्डमा आममाफी दिन सकिने प्रावधान छ । २० बर्षमा ८ बर्ष कैद सजाय भुक्तान गरिसकेको हुनाले रिगलको हकमा कानून बन्देजकारी छैन । कानून अनुसार नै रिगल छुटेपनि सरकारसामू नैतिक प्रश्न भने छ । सरकारलाई कानूनी अप्ठ्यारो पर्ने नदेखिएको हुँदा भारतीले मुद्दा हार्न पनि सक्छिन् । उता भारतीले सुरु गरेको अनसनमा राष्ट्रवादी जनजागरण अभियान नामको संस्था जोडिएको छ । यसले विस्तारै राजनैतिक रङ दिनसक्ने देखिएको छ । व्यानरमा समेत उसको नाम उल्लेख गरिएको छ । सो संस्थाले राजनैतिक लाभ लिनका लागि भारतीलाई उचालेको आवाज पनि उठिरहेको छ ।