Ad Banner

एमालेको झुट – फोटो छ्याप्छ्याप्ती तर नेता भन्छन्, ‘हामी विमानसम्म गएकै छैनौँ’

साझा कथा । नेपालका हरेक पार्टी झुटका पुलिन्दाका पर्याय बनेका छन् । २०४७ देखि खुल्ला राजनीति थालेको नेकपा एमालेले हरेक राजनैतिक परिस्थितिलाई आफू अनूकुल व्याख्या विश्लेषण गर्दै आएको छिपेको छैन । हुन त यसमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा पनि अछुतो होइनन् । तर एमालेका नेताहरु कतिसम्म झुट बोल्छन् भन्ने कुरा जनकपुरमा बुधबार छर्लङ्गै भएको छ ।

बुधबार एमाले मधेश प्रदेश अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली बुधबार जनकपुर गएका थिए । यति एअरलाइन्सको विमान चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ताहरु धावनमार्गमा विमानको ढोकासम्मै पुगेका थिए । नियमविपरीत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ता पार्टी अध्यक्ष ओलीलाई स्वागत गर्न धावनमार्गमा अनधिकृत प्रवेश गरेको भन्दै विमानस्थल प्रमुख भीम दत्त पन्तले सुरक्षा निकायलाई पत्र समेत लेखेका छन् । नियमअनुसार उनीहरु कारबाहिका भागिदार हुन् ।

अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि २ दर्जन बढी एमाले कार्यकर्ताहरु नियम मिच्दै विमानको ढोकासम्मै पुगे । पार्टी अध्यक्षप्रति उनीहरुले देखाएको आशक्ति पार्टीका लागि स्वभाविकै होला तर अरुका लागि भने लाज लाग्ने विषय हो । यो घटनाले हवाई सुरक्षाको नियम उल्लंघन मात्रै उल्लंघन भएको छैन, विमानस्थल सुरक्षामा गम्भीर प्रश्न समेत उठेको छ ।

‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति बढ्दो छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा एमाले कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्यौँ,’ पन्तले भने । यसबारे आफूले धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित पनि कुरा गरेको प्रमुख पन्तले बताए ।

विमानस्थलले यसअघि भिआइपी रिसिभ गर्न आउँदा ५ जनाभन्दा बढी व्यक्ति नआउनु भनेर पत्राचार समेत गरेका थियो । हवाई सुरक्षाबारे चनाखो हुँदाहुँदै पनि विमानस्थलमा बल प्रयोग भएको विमानस्थल प्रमुख पन्तले बताए । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जनकपुरमा बुधबार हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको बताए । ‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो, को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।

तर एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको दाबी गरेका छन् । विमानको ढोकासम्मै ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्ताको फोटो सामाजिक सञ्जालभर छ्याप्छ्याप्ती देखिरहेको बेला यादवले आफूहरु विमानको ढोकासम्म नपुगेको जिकिर गरेका छन् । उनको यो झुट सामाजिक सञ्जालमा ट्रोल बन्न सक्छ ।

यो पढ्नु भयो ?