Ad Banner

कोशी प्रदेशमा माओवादीको मुख्यमन्त्री, राप्रपाको सभामुख – अब टिक्ला त सरकार ?

साझा कथा । एक–एक महिनामा सरकार बदली भइरहेको कोशी प्रदेशमा अब केहि समयका लागि टिक्ने सरकार बन्ने भएको छ । विहीबार बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने र मुख्यमन्त्री बनाउन सहयोग गरे राप्रपालाई सभामुख दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिने सहमति भएको हो । सत्तारुढ दलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी आवद्ध छन् ।

कोशी प्रदेशमा राप्रपाको ६ सिट छ । सत्ता गठबन्धनलाई बहुमत पुर्याउन १ सिट मात्रै चाहिएको छ ।

साथै सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कोशीको सम्भावित मध्यावधि निर्वाचन टार्नका लागि राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने संकेत दिएपछि उसलाई सभामुख दिने र माओवादीलाई मुख्यमन्त्री दिने तयारी गरिएको हो ।

कोशीको सत्ता समीकरणबारे छलफल गर्न राप्रपाको पदाधिकारीको बैठक शुक्रबार बस्दैछ । नेपाली कांग्रेसलाई २ पटक दिँदा पनि बहुमत नजुटेपछि माओवादीलाई मुख्य मन्त्री दिएर एकपटक विचार गर्ने पक्षमा सत्तारुढ दलहरु पुगेका हुन् । बैठकमा एकपटक माओवादीलाई मौका दिनुपर्ने र त्यसमा आफूहरुले सत्ता टिकाउने प्रयास गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो जसमा कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन गरेका थिए । आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्न देउवा र सिटौला सहमत छन् । तर शेखर कोइराला समूहका नेताहरु सहमत छैनन् ।

राप्रपाले सभामुख लिने निर्णय गरेमा कोशीमा स्पष्ट बहुमतको सरकार बन्ने सम्भावना छ । राप्रपाको निर्णय कुरिरहेका सत्तारुढ दलहरुबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति हुने सम्भावना पनि छ । तर यदि राप्रपाले सत्तारुढ नबन्ने निर्णय गरेमा कोशी प्रदेशमा मध्यावधि चुनाव हुन सक्छ जसको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीले लिन सक्छ । यसअघि रास्वपाले प्रदेशमा उम्मेदवारी दिएको थिएन । तर अब हुने चुनाव वा उपचुनावमा आफ्नो पनि उम्मेदवारी हुने उसले बताइसकेको छ ।

यो पढ्नु भयो ?