Ad Banner

इजरायलबाट बाँकी नेपाली कहिले आउँछन् ? शव ल्याउन धेरै कठिन

साझा कथा । शुक्रबार विहान इजरायलमा अलपत्र परेका २५३ जना नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् । यसमा सरकारले गरेको पहलको सर्वत्र प्रशंसा भइरहेको छ । नेपाली नागरिकलाई उद्धार गर्ने कार्यमा समन्वय गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका थिए । इजरायलमा अहिले ४५ सय बढी नेपालीहरु कामदारको रुपमा र कैयौँ विद्यार्थीको रुपमा पुगेका छन् । नेपाल सरकारले फर्कन चाहनेहरुलाई निशुल्क नेपाल ल्याउने घोषणा गरिसकेको छ ।

अहिले इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो । नेपाल एयरलाइन्सको वाइडवडी विमानले २५३ जना नेपाली ल्याएपनि अझै स्वदेश फर्किन चाहेका २०० बढी नेपालीहरु इजरायलमै छन् । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

उद्धारपछि शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नेहरुलाई छिट्टै नेपाल ल्याइने जानकारी दिए । इजरायलमा १० जना नेपालीले ज्यान गुमाएका थिए भने एक जना अझै वेपत्ता छन् । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको खोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जनाएको छ । विपिनलाई हमासले नियन्त्रणमा राखेको आशंका गरिएको छ ।

कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ । त्यसैले शव ल्याउन कति समय लाग्छ भन्ने एकीन छैन ।

आक्रमणमा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि शुक्रबार नै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिएका छन् । “आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ हामीले उद्धार गर्नेछौँ ।”

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले स्वदेश फर्काउने तयारी गरेको छ ।

 

यो पढ्नु भयो ?