साझा कथा । हिन्दूहरूको महान् पर्व बिजया दशमीको पहिलो दिन घटस्थापना तथा नवरात्रीको आरम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ ।
साथै आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।
यसै गरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसती र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।
यस अवसरमा आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।