साझा कथा । हिन्दुहरुको महान् चाडपर्व सुरु भएसँगै सडकमा सवारीको चाप बढ्न थालेको छ । सरकारले दशैँमा घर जाने-आउने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै यातायातमा ‘क्यु फ्रि’ बनाएको छ । धेरै सवारी साधनको चाप हुने भएपछि नारायणघाट–काठमाडौँ सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन रोक लगाइएको छ ।
असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म यातायात व्यवस्था विभागले दशैँको बेलामा गाडीको चापलाई मध्यनजर गर्दै ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन रोक लगाएको हो ।
विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने जनाएको छ । ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।
विभागका अनुसार ठूला मालवाहक गाडीहरु कात्तिक ८ गतेसम्म नारायणघाटमै रोकिनेछन् भने काठमाडौंबाट पनि बाहिरिने छैनन् । प्रत्येक वर्ष काठमाण्डौबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति उपत्यकाबाट बाहिरिने गरेका छन् ।