साझा कथा । यो बर्षको मनसुन बाहिरिसकेको छ । सामान्यतया अक्टोबर २ मा बाहिरिनुपर्ने मनसुन यो बर्ष १३ दिन ढिला गरी अक्टोबर १५ अर्थात असोज २८ मा बाहिरिएको हो । गत जेठ ३१ गते साबिकभन्दा एक दिन ढिला गरी नेपाल भित्रिएको मनसुन देशैभर फैलन ८ दिन लागेको थियो । एक सय २४ दिन नेपालमा रहेको मनसुनबाट सिर्जित घटना (बाढी, पहिरो, चट्याङ, भारी बर्षा लगायत) ले ठूलो क्षति गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो बर्ष देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी घटना कोशी प्रदेशमा देखिएको छ । कोशीमा मनसुनबाट सिर्जित घटनाको संख्या २४० छ भने त्यहाँ १९ जनाले ज्यान गुमाएका छन् । २५ जना घाइते भएका छन् । हरेक बर्ष बाढीबाट आक्रान्त हुने मधेस प्रदेशमा यो बर्ष कम क्षति भएको छ । मधेस प्रदेशमा विभिन्न विपद्बाट ४ जनाले ज्यान गुमाए भने ६ जना घाइते छन् । यस्तै १७५ घटना भएको लुम्बिनी प्रदेशमा २० जनाले ज्यान गुमाएका छन् । १२५ घटना भएको बागमति प्रदेशमा मृत्यु हुनेको संख्या १८ छ । यस्तै कर्णालीमा ११ र सुदुरपश्चिममा ६ जनाले यो बर्ष ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा १४ जनाले ज्यान गुमाउँदा १८ जना घाइते भएका छन् ।
यो बर्षको मनसुनमा भएका विभिन्न विपदका घटनामा ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । यो बर्ष अस्वभाविक रुपमा मुस्ताङमा भारी बर्षा र बाढी आएको थियो । विश्व तापमान वृद्धिको असर स्वरुप हिउँ पर्ने ठाउँमा पनि भारी बर्षा हुन थालेको छ ।
मनसुनको प्रभाव र क्षतिका विषयमा जानकारी दिन बुधबार प्राधिकरणले पत्रकार भेटघाट कार्यक्रम राखेको थियो । प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार यो बर्षको मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको छ । चट्याङबाट मात्रै २९ जनाले यो बर्ष ज्यान गुमाएका छन्, जुन अघिल्ला बर्षहरुको तुलनामा बढी हो ।
सरकारले बाढी र पहिरोमा बढी ध्यान केन्द्रित गर्दा चट्याङबाट निधन हुने र क्षतिको परिणाम पनि बढिरहेको तथ्यांकले देखाउँछ । विगत १० बर्षको आँकडा केलाउने हो भने बाढी, पहिरोको संख्या र क्षति घट्दै गर्दा चट्याङको भने बढिरहेको छ । प्रवक्ता खड्काले पनि सरकारी प्रयासबाट चट्याङको पूर्व तयारी र सूचना प्रणाली स्थापनामा कमजोरी भएको स्वीकार गरे ।
यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार कम वर्षा भएको थियो तर केहि ठाउँमा अतिवृष्टि हुँदा भारी वर्षासँगै बाढीपहिरो आएको थियो । यो मनसुनबाट देशेभर ६१३० घरपरिवार प्रभावित भएका छन् । २४३ निजी घरमा पूर्ण क्षति पुगेको छ भने ७२० घरमा आंशिक क्षति पुगेको छ । यो बर्ष सबैभन्दा बढी क्षति जलविद्युत् क्षेत्रले व्यहोरेको छ । १३२.७५ मेगावाट क्षमताका १३ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरुमा क्षति हुँदा ५९२ करोड बराबरको नोक्सान भएको छ । यस्तै ३२६.८३ मेगावाट क्षमताका निर्माणाधीन जलविद्युत आयोजनामा क्षति हुँदा २६२ करोड बराबरको क्षति भएको छ ।
पछिल्ला बर्ष पूर्व सूचना प्रणालीले राम्रोसँग काम गरेको प्राधिकरणको दाबी छ । प्राधिकरणले जल तथा मौसम विभागको तर्फबाट बाढी तथा जल सतह सम्बन्धी सूचना सम्प्रेषण गर्दै आएको छ भने सामाजिक सञ्जालको पनि व्यापक प्रयोग गर्ने गरेको छ ।