साझा कथा । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री बेलाबेला चर्चामा आउँछिन् । केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दा मुखमा लगाइएको टेप खोलेर होस् या मन्त्रीबाट हात धुनुपरेपछि रोएको कुरा होस् उनी चर्चाको शिखरमा रहिन् । पछिल्लो समय उनी माधव कुमार नेपालसँग असन्तुष्ट छन् । यसैलाई लिएर उनी नेकपा एमालेमा फर्कने विश्लेषण गर्न पनि थालिएको छ ।
अहिले गैर आवासीय नेपालीहरुको संगठन एनआरएनएको ११ औँ विश्व सम्मेलन चलिरहेको छ । सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा नेतृ झाँक्रीले दिएको अभिव्यक्तिले यतिबेला चर्चा पाइरहेको छ । उनको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ । कसैले उनको पक्ष लिएका छन् भने कतिपयले उनले बोलेका कुराले गैर आवासीय नेपालीको अपमान भएको बताइरहेका छन् । उनले गैर आवासीय नेपालीहरुले नेपालको इज्जतमा दाग लाग्ने कुराहरु लेख्ने, नेपालको अपमान गर्ने लगायतका केहि सत्यनजिकका कुरा अभिव्यक्त गरेकी छन् । तर यो पनि सत्य हो, बोल्ने क्रममा उनले कतिपय अपाच्य कुरा पनि भनेकी छन् जुन नेतृको हैसियतले उनले भन्न नहुने हो । ‘रेष्टुरेन्टमा काम गर्ने’, ‘आँखामा चेपरासहित स्टाटस लेख्ने’, ‘सोल्जर (सैनिक) भन्दा माथि उठ्न नसकेको’ लगायतका अभिव्यक्तिहरु उनको पदीय हैसियतले बोल्न नहुने कुराहरु देखिन्छन् ।
खासमा उनले के भनेकी थिइन् ? उनको भनाई जस्ताको तस्तैः
‘यो कुरा मैले कुल दाइलाई पनि याद छ । किनकी यो डायस्पोरामा म धेरै दाइहरुसँग इङ्गेज थिएँ पहिलेदेखि । अहिले औंलो हालेपछि डुडिल्नोसम्म छिराउने मामिला हो भन्ने त हामीलाई पनि थाहा थियो । त्यहीकारणले ठ्याक्कै नागरिकता पाएपछि यो हुँदैछ ।
यसको म पृष्ठभूमिको कुरा गर्छु, छोट्टोमा । अपमान गरेको होइन ।
पहिले हामी नेपाली विदेश जान केके हर्कत गर्यौं ? त्यो देशको आईएलआर अथवा ग्रिनकार्ड पाउन के के हर्कत गर्यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर ।
तपाईंहरुले दुई पैसा कमाउनु भाहोला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्र पछि संविधान ल्याएर यो व्यवस्था गर्यौं । अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ । (ताली बज्छ)
नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन ।
म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ । एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःख, कतिसम्म कष्ट, कतिसम्म काम गरेर बस्नुभाछ । अनि यहाँ आएर ठूला कुरा गर्या सुहाएन के साथी हो ।
तपाईंहरुले भन्नुभयो– म विज्ञ हुँ कानुनको । …. तपाईं त्यहाँ वकालत गर्नुहुन्छ ? तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ?
नम्बर एक । हो ? तपाईं हो भने …. (दर्शकदीर्घाबाट केहीले हल्ला गर्छन्) तपाईं प्राक्टिसनर वकिल हो ? मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो ?
तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको । हो भने म यसै गरी … यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ । कानुनमा मैले स्नातक गरेकी छु । म लेजिस्जेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें । त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो- तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ ।
हामीले प्राक्टिक अलि कम काम अलि धेरै गर्यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसीप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।
मानव अधिकार विश्वव्यापी हुन्छ । सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु …. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?
यो सबै थाहा छ, म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेको छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान् … । तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?
ट्रिट फर ट्र्याट हुन्छ मित्र । तपाईंले पढ्नुभएको छ तर बेलायतमा अभ्यास गर्नुभएको छैन । हामी नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा गर्नु हुँदैन ।
र, म कान खोलेर सुन्न भन्छु- तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो ।
त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकरात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ?
तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं ।
तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन ।
र, डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ इल्स (केही पनि होइन), यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?
विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् । तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र ।
नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले ।
(दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ- तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् ।
त्यसकारण तपाईंहरूले जान्नुभएको होला, त्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ । नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को भन्दा माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ ।
तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ । नलिन चाहनेले लिनुहुन्न । यतिकुरा भनेर सकाउँछु । धन्यवाद ।’