Ad Banner

विश्वकप छनोटको दोस्रो खेल – दुबै कुशलको कुशल व्याटिङ, रोहित फेरि निरीह

साझा कथा । नेपाली क्रिकेट टिमका दुई कुशलको उत्कृष्ट प्रदर्शनसँगै नेपाल आइसिसी टी–२० विश्वकप छनोटमा सेमिफाइल प्रवेश गरेको छ । मलेसियालाई ४ विकेटले हराउँदै नेपालले सेमिफाइनलको स्थान पक्का गरेको हो । यसअघि सोमबार नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको थियो । मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरे । मल्लले ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र ४ चौका प्रहार गरे । यस्तै ओपनर कुशल भुर्तेल २५ बल खेल्दै ४३ रन बनाएर आउट भएका थिए । भुर्तेलले ४ चौका र ४ छक्का प्रहार गरे । व्याट्सम्यान कुशल भुर्तेलको शानदार सुरुवात र कुशल मल्लको उत्कृष्ट पारीले नेपालको जित सहज बनेको हो । अधिकाँश खेलमा फितलो प्रदर्शन गर्ने रोहित पौडेलले मलेसियाविरुद्धको खेलमा पनि निरीहता देखाए । ८ बलको सामना गरेका उनले जम्मा २ रन बनाएर आउट भए । मल्ल प्लेअर अफ द म्याच घोषित भए ।

मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए । नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।

नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुगेको छ । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग विहीबार खेल्नेछ । चीरपरिचित प्रतिद्वन्द्वी ओमानसँग नेपालको खेल हेर्न लायक हुनेछ ।  ओमानलाई पराजित गर्न सके समूह विजेता बनेर नेपाल सेमिफाइनलमा सहभागी हुनेछ ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ । प्रतियोगिताको फाइनल पुग्ने दुबै टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछन् ।

यो पढ्नु भयो ?