Ad Banner

नेपाल १० बर्षपछि पुनः विश्वकपमा, विजोग पूर्वाधार र ‘क्रेजी फ्यान’हरु (फोटो कथा)

साझा कथा । समूह चरणको अन्तिम खेलमा ओमानसँग नमीठो पराजय व्यहोरेको नेपालले पुनरागमन गर्दै आईसीसी टी २० विश्वकपमा स्थान बनाएको छ । नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप २०२४ का लागि छनोट भएको हो । विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा पुग्यो । फाइनल प्रवेशसँगै नेपाल टी–२० विश्वकपमा छनोट भयो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

स्पीनरहरुको सटीक बलिङ र आसिफ शेखको शानदार व्याटिङका कारण नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउन सफल भएको हो । मुलपानी क्रिकेट मैदानको पिचमा नेपालका तीन स्पीनर सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान रोहित पौडेलले घातक बलिङ गरेर युएईको पालिलाई सामान्य स्कोरमा सीमित पारेका थिए । शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको जित निकाल्यो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर ब्याट्सम्यान आसिफले ५२ बलमा सात चौका र एक छक्कासहित अविजित ६४ रन बनाएपछि नेपालको जित सहज बन्यो । कप्तान रोहित पौडेल पनि २० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाएर अविजित रहे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहनेछ ।

विश्वकप छनोट खेलको आयोजक नेपालका दुई मैदानमा खेल भएको थियो जहाँ भौतिक पूर्वाधारको विजोग देखिन्छ । समूह चरणका अन्य खेल हेर्न प्याराफिट समेत नभएको त्रिवि मैदान जति मात्रामा दर्शक थिए त्यो भन्दा बढी निर्माणकै चरणमा रहेको मुलपानी मैदानमा थिए । धुलो सहितको र घाँसे प्याराफिटमा नेपाली दर्शकहरु व्यग्रतापूर्वक खेल हेरिरहेका थिए । मुलपानी मैदानको वरपर रहेका घरहरुको छतमा पनि नेपाली दर्शकहरु खचाखच थिए । नेपाल र युएईबीचको महत्वपूर्ण खेल हेर्न दर्शकहरु सकडमा हिँड्दा हिड्दै रोकिएका थिए भने वरपरका डाँडाकाँडा भरिभराउ थिए । नेपाली क्रिकेट मैदानको दुरावस्थाकै कारण क्रिकेट एशोसियसन नेपालले दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गर्नुपरेको थियो ।

क्रिकेट खेल नेपालमा पछिल्लो समय सर्वाधिक लोकप्रिय खेल बन्दै गएको छ र यसप्रतिको क्रेज बढ्दै गएको छ । यसमा नेपाली खेलाडीहरुले गरेको अथक मेहनत र प्राप्त गर्दै गइरहेको सफलताले दर्शकको ध्यान तानिरहेको छ ।

यो पढ्नु भयो ?