Ad Banner

जाजरकोट भूकम्पः लालसरीलाई तीन बर्षमा नियतिले गर्यो तीन प्रहार, भूकम्पपीडितहरु भोकभोकै

साझा कथा । जाजरकोट भूकम्पपछिको अवस्था कहालीलाग्दो भएको छ । घरपरिवारका सदस्यहरु गुमाएका व्यक्तिहरु इन्तु न चिन्तु भएका छन् । उनीहरु आफ्नो आगामी दिन कसरी विताउने भन्ने पिरलोमा छन् । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सोमबार अपराह्न फेरि बारेकोट नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको परकम्प गयो । परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भए । यसले सो क्षेत्रमा झन् बढी त्रास थपेको छ । पटक–पटक आउने परकम्पका कारण घरभित्र बस्ने अवस्था छैन ।

पछिल्लो परकम्पका कारण शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । ठुला परकम्पन जान थालेपछि जाजरकोटवासी थप त्रसित बनेका छन् । शुक्रवार राति गएको भूकम्पमा परि भेरी नगरपालिका वडा नम्बर ३ थाप्लेकी लालसरी बुढाथोकीको घर पूर्णरूपमा क्षतिग्रस्त भयो । नियतिले उनीमाथि प्रहार गर्न थालेको तीन बर्ष भइसक्यो । दुई वर्षअघि लालसरीले पति गुमाएकी थिइन् । एक वर्षअघि छोरा गुमाएकी लालसरी लगातार नियतिले प्रहार गर्न थालेपछि गहिरो पीडामा छिन् ।

भत्केको घरभित्रका काम लाग्ने सामान निकाल्दै गरेकी लालसरीले भनिन्, ‘राती सुतेको अवस्थामा एक्कासी घर भत्कियो, आसपासका घर ढलेर धेरैले जीवन गुमाए ।’ भूकम्पको समयमा लालसरी र बुहारी भित्रै सुतेको थिए, धन्न ज्यान जोगाए ।

लालसरीको टोलमा मात्रै भूकम्पमा परी १३ जनाको निधन भएको छ । सुरक्षाकर्मी र स्थानीय युवाहरू भत्केका घरभित्रबाट काम लाग्ने सामग्री निकालिरहेका छन् । पीडित परिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्प गएको चार दिनसम्म पनि प्रभावितहरू टेन्ट लगाएर तथा आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । कतिपय भूकम्प पीडितहरु दुई दिनदेखि भोकै बसिरहेका छन् ।

स्थानीय प्रतिमा शाहको घरमा भाडामा बस्ने स्थानीय गोल्डेन बोडिङ स्कुलका शिक्षक शोभा शाहको निधन भयो । उनका पति मोहन विष्टको भेरी अस्पतालमा उपचार भइरहेको छ । घरधनी प्रतिमा शाह ३ तल्ले घर भत्किएपछि आफन्तको घरमा शरण लिन पुगेकी छन् । विद्यालयको छात्रावाससमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ । दसैँ बिदा भएकाले छात्रावासका विद्यार्थी थिएनन् ।

सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने घोषणा गरेकाले संघसंस्था र व्यक्तिहरुले मनलाग्दी ढंगले राहत वितरण गर्न पाउँदैनन् । त्यसकारण पनि राहतहरु एक ठाउँमा थुप्रो लागेको छ । तर पीडितहरु रहेको ठाउँसम्म पुग्न पाएको छैन । प्रभावितहरूले राहतसँगै खाना पकाउने ग्याँस र भाँडाकुँडाको समेत व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा आफैँ खटिएर प्रभावितलाई राहत वितरणमा अग्रसर भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफैँ खटिएर उद्धार र राहतको काम गरेका थिए । तर कतिपयले भने भिआइपीहरुले अनावश्यक भीड गरेको बताइरहेका छन् ।

जाजरकोट सदरमुकामको सडक हरिया र निला त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ ।

यो पढ्नु भयो ?