Ad Banner

टिकटक प्रतिवन्धको ठुलो असर एनसेललाईः दैनिक १ करोड घाटा

साझा कथा । गत कात्तिक २७ मा बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारलाई लिएर कतिले प्रसंसा गरेका छन् भने त अर्को तर्फ यसको बिरोध पनि गरिदै आइएको छ ।

यसैबिच टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका कारण एनसेललाई डेटाबिक्रीमा मात्र दैनिक १ करोड घाटा हुन पुगेको छ । यो प्रतिबन्धको असर वार्षिकरुपमा हेर्ने हो भने करिब ३ अर्ब गुम्ने अनुमान गरिएको छ ।

नाफामा कमी आउन थालेपछि एनसेल आजियाटा ग्रुपले नेपालबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । सात वर्षअघि टेलिसोनेरियाको सेयर खरिद गरेको आजियाटाले नेपालमा नाफा नदेखेपछि बाहिरिने निर्णय गरेको हो । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा एनसेलको अवस्था चुनौतीपूर्ण बन्दै गएको र नाफामा कमी आउन थालेकाले आजियाटाको सञ्चालक समितिले सेयर बिक्री गरी बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन् ।

एनसेलको आन्तरिक विश्लेषणलाई आधार बनाउँदा टिकटकमाथिको प्रतिबन्ध कायम रहेको खण्डमा नेपाल टेलिकम र एनसेल गरी दुवै कम्पनीको कूल वार्षिक आम्दानी ६ अर्ब हाराहारीले घट्ने देखिन्छ ।

टिकटक नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल हुनुका साथै यसले देशको कूल इन्टरनेट ब्यान्डविथ मध्ये ३० देखि ३५ प्रतिशत खपत गर्दै आएको थियो । मोबाइल सेवा प्रदायकको डेटा व्यवसायमा भने टिकटकको योगदान ४० प्रतिशत हाराहारी रहेको नेपाल टेलिकमका एक अधिकारीले बताए ।

एनसेलको आन्तरिक विश्लेषणलाई आधार बनाउँदा टिकटकमाथिको प्रतिबन्ध कायम रहेको खण्डमा नेपाल टेलिकम र एनसेल गरी दुवै कम्पनीको कूल वार्षिक आम्दानी ६ अर्ब हाराहारीले घट्ने देखिन्छ । जसमा राज्यले प्राप्त गर्ने रोयल्टी, भ्याट, दूरसञ्चार सेवा शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष लगायत गरी अढाई अर्बको घाटा राज्यलाई समेत पर्नेछ ।

एनसेलको वित्तीय विवरण अनुसार कम्पनीले पछिल्लो एक वर्षमा ३७ अर्ब ८८ करोड ३३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको थियो । कूल आम्दानीमध्ये ३५ प्रतिशत अर्थात् १३ अर्ब २५ करोड ९१ लाख ८३ हजार रुपैयाँ डेटा बिक्रीबाट आउनेछ ।

प्रविधिको विकासले गर्दा टेलिकम कम्पनीहरूको भ्वाइस तथा कल तर्फको आम्दानी घट्दो छ । तर डेटा खपत बढ्दै गए पनि घट्दै गएको आम्दानीलाई पूर्ण रूपमा भरथेग गर्न भने सकिरहेको छैन । डेटातर्फको आम्दानी बढाउनु पर्ने बाध्यतामा रहेका टेलिकम कम्पनीहरूलाई मुख्य कन्टेन्टको रूपमा रहेको टिकटक माथि नै प्रतिबन्ध लागेपछि अर्को चुनौती थपिएको छ भने राजश्वको आर्थिक संकट बेहोरिरहेको नेपाललाई झन् संकट थपिने छ।

यो पढ्नु भयो ?