Ad Banner

जोखिम मोलेर डुङ्गामा रमाउँछन् रारा पुगेका पर्यटक

साझा कथा । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको र नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका छन् ।

पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाइफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् ।

चितवनबाट रारा तालमा घुम्न आएका र्‍याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, “तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४र१६ त कहिलेकाहीँ २० जनासम्म राखेर सवार गरिएको छ ।”

क्षमता भन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए । “लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातीमा बाँध्ने फिता नभएका अवस्थामा छन्”, उनले भने, “यसले कुन बेला दुर्घटना निम्ताउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।” यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्‍याफ्टिङ गाइड गुरुङको भनाइ थियो ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुङ्गा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुङ्गा रहेका जानकारी दिए । “निकुञ्जले ज्याकेट खरिद गरेको छरसात वर्ष पुगिसकेको छ”, उनले भने, “कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।” डुङ्गाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो ।

निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै सत्यता नभएको बताए । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दो र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो ।

यहाँ रहेका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे । गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यो पढ्नु भयो ?