साझा कथा । पछिल्लो समय नेपाल सुनतस्करीको ट्रान्जिट बन्दै गएको छ । पटक पटक नेपालको बाटो हुँदै सुन तस्करी भइ रहँदा नेपाल सुनतस्करीको ट्रान्जिट बन्दै गएको पुष्टि हुन्छ ।
पाँच मिहना अघि भरीयालाई अग्रस्थानमा राखी भएको सुन तस्करी होस या पछिल्लो समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भएको सुन तस्करी होस ।
पछिल्लो समय शासक, तस्कर मोटाउने र मुलुकको गरिमामाथि घात थप्ने कामले तीव्रता पाइरहेको छ । विभिन्न समयमा भएका सुन तस्करीमा गठन भएका जाँचबुझ आयोग सुस्त देखिएका छन् । पछिल्लो समय हवाइ र सिमानाकाको बाटो हुँदै सुन तस्करी तीव्र भएको छ । यसका कारण कुशासनको कुरूप तस्बिर प्रतिबिम्बित भएको छ । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको बदनामी हुने संकेत दिएको छ ।
हुन पनि पछिल्ला ५ दिनमै ४ पटक गरी साढे २९ किलो सुन बरामद भएको यथार्थबीच अरू बाहिरिएको सुनको परिमाण योभन्दा दसौं गुणा बढी नहोला भन्न सकिँदैन । विमानस्थलको एक्सरे मेसिनबाट तस्करी हुने सुनको पहिचान नहुनु, गिरोहहरूले शृंखलाबद्ध रूपमा तस्करी गर्ने आँट गर्नु सर्वत्र चिन्ताको विषय बनेको छ ।
५ महिनाअघि भएको ६१ किलो सुन तस्करीको छानबिनका लागि संसद्का ७ दलबीच सहमति भई असोज १४ मा गठित उच्चस्तरीय छानबिन समितिको काम सकिनै लाग्दा विमानस्थलकै चोर बाटोबाट धमाधम सुन भित्रिएको पाइएको छ । यसलाई कुशासनको निकृष्ट रूप नभनिरहन सकिँदैन । चीनदेखि इजिप्टसम्मका अन्तर्राष्ट्रिय तस्करहरू सलबलाउनुले नेपालको साख विश्वभर गिर्दो अवस्थामा पुगेको छ ।
ठूला राजनीतिक दल अपराधमा संलग्न आफ्ना मान्छे बचाउन लागिपर्नु, नागरिक समाजको आवाज उच्च नबन्नु, माथिदेखि तलसम्मका नेता, कार्यकर्ता अपराधको विषयमा चुइँक्क नबोल्नु, साना–ठूला दल राजनीतिक अभियानमा मात्र केन्द्रित देखिनु, क्षमता हुँदाहुँदै सञ्चार क्षेत्र अन्तै व्यस्त रहनुलगायत विषय अवाञ्छित सन्दर्भ बनेका छन् । दशकौं अघि कुख्यात अपराधी चार्ल्स शोभराजले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति यथार्थपरक सावित भइरहेको छ ।