Ad Banner

कसैको चासोमा नपरेको डा. केसीको अनसन

साझा कथा । डा. गोविन्द केसीलाई ‘अनसनी डाक्टर’को उपनामले समेत चिनिन्छ । तर, पेशाले उनी चिकित्सक हुन् । हरेक मागको विरोध गर्ने स्वरुप अनसन हुनु र अनसन अत्यन्तै कठोर रुपमा बस्नु उनको विशेषता हो । अहिले गोविन्द केसी २१ औं पटक अनसनमा छन् । तर, दुःखका साथ भन्नुपर्छ – हिजोआज डा. गोविन्द केसीको अनसनको क्रेज मात्रै घटेको छैन कि उनलाई अनसन बस्नै नदिनेहरु बढ्न थालेका छन् । जनताकै हितका लागि भनेर अनसन बस्दै आएका केसीलाई आखिर जनताले नै किन लखेटिरहेका छन् त ?

पछिल्लो समय डा. गोविन्द केसी धनगढीबाट लखेटिए । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा विश्वविद्यालय नभइ स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्छ भन्ने अडान राखेर गेटा अगाडि अनसन बस्न पुगेपछि उनलाई स्थानीयले लखेटेका हुन् । विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति नै गठन गरेर आन्दोलननै गरिरहेका स्थानीयको भावना विपरित केसी त्यहाँ पुगेपछि तिनै संघर्ष समितिका पदाधिकारीहरुले उनलाई लखेटेका हुन् ।

गेटा अस्पतालको गेटबाट लखेटिएपछि डा. केसी धनगढीकै लक्ष्मीनारयण मन्दिरको सरणमा पुगे । त्यहाँ उनलाई कसैको अवरोध छैन तर समर्थन पनि खासै छैन ।

एक समय थियो जतिबेला डा. गोविन्द केसीले अनसन बस्ने भनेपछि सरकार हल्लन्थ्यो । भएभरका अस्पतालका डाक्टर र सोसँग सम्बन्धित चिकित्सालयका विद्यार्थी अनि भ्रातृ संगठनहरुको समेत समर्थन हुन्थ्यो । कालो पट्टी बाँधेर नाराजुलुससहित सडकमा आउने उनका समर्थक शुभेच्छुकको त कुरै नगरौं ।

यसरी चौतर्फी दबाबमा परेपछि सरकार बाध्य भएर डा. गोविन्द केसीसँग झुक्न पुग्थ्यो र उनका माग सम्बोधन गर्ने बाचा गर्दै सरकार सम्झौता गथ्र्यो । तर, पछिल्लो समयमा डा. गोविन्द केसी एक्लिएका छन् ।

मन्त्रीपदमा बहाली हुँदाहुँदै पहिलो पटक स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा. गोविन्द केसी विरुद्ध मुख खोले । सयौं चिकित्सकहरुको बीचमा चलिरहेको एक सार्वजनिक समारोहमा मन्त्री बस्नेतले डा. केसीलाई मेडिकल माफियाले सञ्चालन गरेको मात्रै आरोप लगाएनन् कि त्यस्ता अनसनी डाक्टरलाई सहयोग गरेमा चिकित्सकहरुलाई कारबाही गर्ने धम्कीसमेत दिए ।

अरुबेला डा. गोविन्द केसीको समर्थनमा स्टेथेस्कोप डाउन गरेर अन्धभक्त सडकमा ओर्लने डाक्टरहरु त्यसपछि चुईंक्क समेत बोलेनन् । सायदः स्वास्थ्यमन्त्रीको त्यो अभिव्यक्तिप्रति ती डाक्टरहरुले मनन गरे कि !

यसअघि डा. गोविन्द केसीलाई आरोप लगाउने र उनको मागमा विरोध गर्ने केही सिमित व्यक्ति थिए – जो डा. केसीकै कारण अप्ठेरोमा परेका थिए ।

दसकौंदेखि नेपालमा मेडिकल शिक्षाको वकालत गर्दै आएका डा. केसी माथि नै अहिले विभिन्न आरोप र लाञ्छना लाग्न थालेपछि, बनेका मेडिकल कलेजहरु सञ्चालन गर्न नदिएपछि, मेडिकल शिक्षाका लागि हरेक वर्ष हजारौं विद्यार्थी बाहिरिने क्रम नरोकिएपछि र उनले राखेका मागहरु सम्बोधन हुन छाँटकाटै नदेखेपछि सायदः डा. गोविन्द केसीको अनसनप्रतिको क्रेज र उनलाई गर्ने समर्थन घटेको पो हो कि ?

आज डा. गोविन्द केसी स्वास्थ्य शिक्षासम्बन्धीको माग लिएर अनसन बस्न स्वास्थ्य संस्था होइन, मन्दिरको धर्मशालामा जानु परेको छ । बढ्दो उमेर र मौसमी चिसोले उनको शरीर शिथिल बनेको छ । पित्तथैलीको शल्यक्रिया गरेको एक सातापछिको यो अनसन उनका लागि अत्यन्तै पीडादायी बनेको छ, शरीर सुन्निएको छ – रक्तचाप घट्दो छ । यहाँसम्मकी डा. केसी शौचालय जान नसक्ने हालतमा पुगेका छन् । तर, खै त उनी र उनको मागका लागि जनसमर्थन ? के अनसनी डाक्टरप्रतिको क्रेज घटेकै हो त ?

यो पढ्नु भयो ?