Ad Banner

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

साझा कथा । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

गत मंसिर २१ गते राति १४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ। समितिले अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश पाएको थियो । यस्तै समग्र सूचना तथा तथ्यांकहरुको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य कार्यहरू गर्ने समेतको कार्यादेश पाएर समितिले अध्ययन थालेको थियो ।

घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए । जसअनुसार सीसीटीभी फुटेज एनालाइसिसका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेन्जहरुको सम्पूर्ण डिटेलहरू समितिले अध्ययन गरेको थियो । यस्तै मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवम् अन्य आवश्यक वस्तुहरुलाई पनि आरोपीहरूको लिखित बयानमा सनाखत गरिएको थियो ।

मीनले एयरपोर्टमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको दाबी छ।

यो पढ्नु भयो ?