साझा कथा । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
२०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।
सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

