साझा कथा । प्रकृति पुजारी किराँत समुदायको महत्त्वपूर्ण चाड उधौली आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर महिनाको पूर्णिमाका दिन उधौंली पर्व पर्दछ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद सुरु भयो, हिउँ सुरु भए लगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुङ्गी बेसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
किराँत राईहरुको महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।