साझा कथा । लेनदेनको हिसाब चुक्ता नगरेको भन्दै सिन्धुलीस्थित कमलामाई नगरपालिका वडा नं. ४, ढकाल गाउँका स्थानीयले छिमेकी श्रीमान्/श्रीमती माथि निर्घात कुटपिट गरेका छन् । कुटिनेमा ढकाल गाउँकै श्रीमान् सन्तोष थापा र श्रीमती शारदा थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालका अनुसार स्थानीयले अघिल्लो दिन उनीहरुकै घरको खाँबोमा बाँधेर एक रात यातना दिएको र अर्को दिन श्रीमतीलाई गाउँकै विजुलीको पोलमा डोरीले बाँधेर निर्मम याताना दिएको हो । दुबै यातनाको फोटोहरु सार्वजनिक भएका छन् ।
आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेकी शारदाको उद्धार गरेको हो । उद्धार गरेपछि प्रहरीले शारदालाई सेफ हाउसमा राखेको थियो । शरीरमा लाठी र हात/खुट्टाले हिर्काएका थुप्रै निलडामहरु रहेकोले उनलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको थियो । अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले छिमेकीहरुसँगको लेनदेनका कारण घटना भएको बताएको छ । शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन् । उनले श्रीमान् सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन् । सोही क्रममा प्रक्रिया अघि बढाउन उनी सिन्धुली पुगेकी थिइन् । तर, डिभोर्सपछि आफूहरुको पैसा असुल नहुने देखेपछि छिमेकीले उनीहरु दुबैमाथि कुटपिट गरेको अनुमान गरिएको छ । कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राऊ गरि सोधपुछ गर्दैछ । जसमा श्रीमान् सन्तोषलाई समेत प्रहरीले पक्राऊ गरेको छ ।